Butwal Today

नगरपालिकाबाटै कर सेवा पाउँदा सेवाग्राही लाभान्वित  

३ भाद्र २०८३, बुधबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा सुरु भएको  करदाता सेवा प्रवाहले स्थानीय लाभान्वित भएका छन् । स्थानीय तहबाटै करसम्बन्धी सेवा प्राप्त गरेपछि  सहज, छिटो र झन्झटमुक्त सेवा पाएको भन्दै सेवाग्राहीहरू खुसी भएका हुन्  ।

सन्धिखर्क नगरपालिकामा ३५ सय भन्दा बढी करदाता सेवाग्राही रहेका छन् । गएको जेठ १२ गते देखि करदाताको सेवा प्रवाह सुरु भएको थियो । सुरु भएको छोटो समयमै अर्थात् गएको जेठ १२ गतेबाट साउन मसान्त सम्म विभिन्न प्रकृतिका १ सय ६० वटा फर्म तथा करदाताले सेवा प्राप्त गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल महतले बताएका छन् ।

यस अवधिमा ३९ वटा व्यवसाय प्यान र ३३ वटा व्यक्तिगत प्यान जारी भएका छन् । ४३ वटा फर्मले व्यवसाय प्यान बन्द गरेका छन् । १८ वटा फर्मले कारोबार संशोधन तथा प्रतिलिपि लगेको र २७ फर्मले कर चुक्ता प्रमाणपत्र लगेको सूचना प्रविधि अधिकृत महतको भनाई छ ।

नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय सरकार नागरिकको घरदैलोमै सेवा पु¥याउने उद्देश्यअनुसार कर सेवा सञ्चालन गरिएको बताउँदै  नागरिकले सामान्य करसम्बन्धी सेवा लिन टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको र  आगामी दिनमा थप प्रविधिमैत्री, छिटो र प्रभावकारी सेवा विस्तार गरिने जानकारी दिए ।

स्थानीय तहबाट कर सेवा सुरु भएसँगै नगरपालिकाप्रति नागरिकको विश्वास अझ मजबुत बनेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले  विश्वास व्यक्त गरे । नगरपालिकाले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै करदातामैत्री वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ ।

यसअघि सामान्य करसम्बन्धी सेवा लिन सेवाग्राहीहरूलाई कपिलवस्तुको कृष्णनगर सम्म पुग्नुपर्ने बाध्यता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?