© 2026
काठमाडौँ । ‘नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६’ ले ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्र छनोट प्रक्रिया सुरु गरेको छ ।
समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी सूचनाअनुसार मापदण्ड पूरा गरेका नेपाली चलचित्रले यही भदौ २२ गते (सेप्टेम्बर ७, २०२६) भित्र आवेदन दिनुपर्नेछ । ओस्कारमा सहभागिता जनाउन इच्छुक चलचित्र निर्मातालाई काठमाडौँस्थित समितिको सचिवालयमा तोकिएको समयसीमाभित्र चलचित्र दर्ता गराउन आह्वान गरिएको छ ।
ओस्कारको प्रतिस्पर्धामा सहभागी हुने चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्नेछ । साथै, विसं २०८२ असोज १५ देखि विसं २०८३ असोज १४ गतेभित्र सिनेमा घरमा प्रदर्शन भएको हुनुपर्नेछ । चलचित्र व्यावसायिक सिनेमा घरमा टिकट काटेर लगातार कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने प्रावधानसमेत राखिएको समितिका अध्यक्ष शर्माले बताएका छन् ।
अमेरिका र यसका भूभागबाहेक अन्य देशका व्यावसायिक सिनेमा घरमा कम्तीमा सात दिन प्रदर्शन भएका चलचित्रलाई पनि मान्यता दिइनेछ । प्रदर्शनको सर्त पूरा नभएको अवस्थामा भने चलचित्रले ओस्कारले तोकेका आधिकारिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘क्वालिफाइङ अवार्ड’ जितेको हुनुपर्नेछ ।
उनका अनुसार टेलिभिजन, ‘भिओडी’, ‘डिभिडी’, ‘इन्टरनेट स्ट्रिमिङ’ वा ‘एयरलाइन इन्टरटेनमेन्ट’ जस्ता माध्यमबाट पहिलो पटक प्रदर्शन भएका चलचित्र भने छनोटका लागि अयोग्य मानिनेछन् ।
सहभागिताका लागि चलचित्रका निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्नेछ । साथै, चलचित्रमा नेपाली परिवेश तथा तत्व झल्किएको हुनुपर्ने सर्त राखिएको छ । चलचित्रको ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्नेछ भने स्पष्ट रूपमा बुझिने अङ्ग्रेजी ‘सबटाइटल’ अनिवार्य रूपमा राखिएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
छनोटमा परेको चलचित्रले ओस्कारका प्राविधिक मापदण्डसमेत पूरा गर्नुपर्ने समितिले जनाएको छ । इच्छुक निर्माताले आवेदन दिई आवश्यक सामग्रीसहित काठमाडौँस्थित सचिवालयमा सम्पर्क गर्न सक्नेछन् ।
यससम्बन्धी थप नियम तथा प्राविधिक जानकारी ओस्कारको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ । आवेदन तथा थप जानकारीका लागि समितिका अध्यक्ष शर्मालाई सम्पर्क गर्न वा समितिको आधिकारिक इमेलमा पत्राचार गर्न सकिने समितिले जनाएको छ ।