© 2026
काठमाडौँ ।
परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको जानकारी दिएका छन् । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा ३७४ जना स्थानीय कर्मचारी कार्यरत रहेको छ । तीमध्ये १८५ जना नेपाली नागरिक र १२६ जना विदेशी नागरिक रहेका छन् ।
प्रतिनिधिसभामा आज सांसद निश्कल राईले विदेशस्थित नेपाली नियोगमा कार्यरत नेपाली तथा विदेशी स्थानीय कर्मचारीको सङ्ख्या र त्यसबाट राज्यलाई परेको आर्थिक भारबारे सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले स्थानीय कर्मचारी नियुक्ति विश्वव्यापी अभ्यासअनुसार नै हुँदै आएको बताए ।
मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगमा कूटनीतिक कर्मचारीलाई दैनिक प्रशासनिक, कन्सुलरलगायत काममा सहयोग गर्न स्थानीयस्तरमा उपलब्ध जनशक्तिलाई करारमा नियुक्त गर्ने गरिएको छ । नेपालबाट थप कर्मचारी पठाउनुभन्दा स्थानीय कर्मचारी नियुक्त गर्दा आर्थिक रूपमा मितव्ययी हुनुका साथै काममा सहजता र प्रशासनिक तथा कूटनीतिक दृष्टिले पनि व्यावहारिक हुने उनको भनाइ छ ।
“स्थानीय भाषा, कानुन तथा कार्यसंस्कृति बुझेका कर्मचारीबाट कामकाज गर्न र गराउन सहज तथा प्रभावकारी हुने भएकाले ती पदमा स्थानीयस्तरमै पदपूर्ति गर्ने गरिएको छ”, मन्त्री खनालले भने । विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको उनले जानकारी दिए । नियोगको कार्य प्रकृति र कार्यबोझअनुसार अफिस सेक्रेटरी, लिगल एडभाइजर, ड्राइभर, मेसेन्जर, ट्रान्सलेटर, गार्डनर, सुरक्षा गार्ड तथा अफिस असिस्टेन्टलगायतका पदमा स्थानीय कर्मचारी नियुक्त हुने गरेका छन् ।
मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारीका लागि ३७४ दरबन्दी स्वीकृत रहेकोमा हाल १२६ पदमा विदेशी नागरिक र १८५ पदमा नेपाली नागरिक कार्यरत छन् । केही पद राजदूत नियुक्त भएपछि पूर्ति हुने र राजदूत फिर्ता भएसँगै रिक्त हुने भएकाले सबै दरबन्दीमा एकैपटक कर्मचारी कार्यरत नरहेको उनले स्पष्ट पारे ।
स्थानीय कर्मचारीको तलबमा आर्थिक वर्ष २०८२/८३ मा ९१ करोड १७ लाख ३८ हजार खर्च भएको पनि मन्त्री खनालले जानकारी दिए । उनले नेपाली नियोगमा स्थानीय कर्मचारीको सङ्ख्या नेपालजस्तै ठूलो डायस्पोरा भएका अन्य मुलुकको तुलनामा निकै कम रहेको दाबी गरे । ‘यो सङ्ख्या नेपालजस्तै डायस्पोरा ठूलो भएका देशहरूको तुलनामा साह्रै न्यून हो”, उनले भने ।
मन्त्री खनालका अनुसार करिब सात लाख नेपाली डायस्पोरा रहेको संयुक्त अरब इमिरेट्स (यूएई) मा अबुधाबी र दुबईस्थित नेपाली नियोगमा जम्मा १० जना स्थानीय कर्मचारी कार्यरत छन् । यसको तुलनामा फिलिपिन्सका नियोगमा ७५ जना स्थानीय कर्मचारी रहेको उदाहरण उनले प्रस्तुत गरे । करिब तीन लाख ५० हजार नेपाली डायस्पोरा रहेको श्रीलङ्काको नियोगमा ४० भन्दा बढी स्थानीय कर्मचारी रहेको उनले जानकारी दिए ।
स्थानीय कर्मचारी नियुक्त गर्दा नेपालको कानुनसँगै सम्बन्धित आतिथेय राष्ट्रको स्थानीय कानुन तथा सन् १९६१ को कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि र सन् १९६३ को वाणिज्यदूतसम्बन्धी भियना महासन्धिका केही प्रावधानसमेत आकर्षित हुने मन्त्री खनालले प्रतिनिधिसभालाई जानकारी गराए । सरकारले विदेशमा रहेका ठूलो सङ्ख्याका नेपालीको सुरक्षा, हित र कन्सुलर सेवा प्रभावकारी बनाउन स्थानीय कर्मचारीको व्यवस्थापनलाई आवश्यकताअनुसार अघि बढाउँदै आएको जनाएको छ ।