Butwal Today

जलवायु परिवर्तनका कारण हराउँदै पाती

१ भाद्र २०८३, सोमबार
अ+
अ-

पाल्पा । निस्दी गाउँपालिका–गल्धाका सीमबहादुर दर्जीले सात दशक उमेर पार गरिसकेका छन् ।

तन्नेरी अवस्थामा गरिबीले च्यापेका बेला पातीले बारेर घर–गोठ बनाएको र वर्षौँसम्म त्यही घरले आफू र आफ्नो परिवारलाई ओत दिएको सम्झना उनको मानसपटलमा अझै ताजै छ । पातीले बारेको घरमा झन्डै दुई दशक बिताएका दर्जी अहिले गाउँमा पाती देख्न नपाउँदा अचम्म मान्छन् ।

बहु उपयोगी पाती खेतबारीमा पर्याप्त मात्रामा पाइने भए पनि अहिले किन र कसरी हरायो भन्ने आफूलाई थाहा नभएको उनी बताउँछन् । “पहिले खेतबारीमा जताततै पाती पाइन्थ्यो । अहिले खोज्दा पनि भेटिँदैन,” दर्जी भन्छन् ।

पातीको प्रयोग गाउँघरमा निकै व्यापक थियो । खेतमा पाती काटेर धानलाई छापो बनाउनेदेखि गाई भैँसीलाई न्यानो पार्न फरिका बुन्नेसम्म यसको प्रयोग हुने गरेको स्थानीय डिलबहादुर बाह्र घरे बताउँछन् । धान स्याहार्ने समयमा पातीको कुचो बनाउने चलनसमेत थियो । अहिले भने गाउँमा खोज्दा पनि पाती भेट्टाउन मुस्किल परेको उनको भनाइ छ ।

माथागढी गाउँपालिका–गोठाडीका कुम्भीका सन्तवीर दर्लामीले पनि पातीले बारेको घरमा वर्षौं बिताएको सम्झन्छन् । उनका अनुसार पहिले बारीका कान्लामा मात्र होइन, खाली चौरसमेत पातीले ढाकिएको हुन्थ्यो । “पहिले पाती हुने ठाउँमा अहिले वनमारा र अन्य वनझारले ढाकेको छ,” उनी भन्छन् ।

घरगोठदेखि खेतबारीमा मलका रूपमा समेत पातीको प्रयोग हुने गरेको दर्लामी बताउँछन् । धार्मिक तथा सांस्कृतिक काममा पनि पातीको प्रयोग गरिन्थ्यो । जुठो–सुतक पर्दा, चोटपटक लाग्दा तथा घाउ–खटिरामा समेत यसको प्रयोग हुने गरेको स्थानीयको भनाइ छ । अन्न भण्डारण गर्दा किराले नखाओस् भनेर पाती सुकाएर राख्ने चलनसमेत थियो ।

गोठाडीका पुरानो पुस्ताका रनबहादुर खाम्चाका अनुसार पहिले पाती पाइने स्थानमा अहिले वनझारले कब्जा जमाएको छ । “पाती कहाँ हरायो भन्ने थाहा नै भएन । पहिले जताततै देखिन्थ्यो, अहिले कतै भेटिँदैन,” उनी भन्छन् ।

पाती हराएको धेरै समय भएको छैन । हावापानीका हिसाबले गर्मी र चिस्यान कायम रहने स्थानमा पाइने यो वनस्पति अहिले क्रमशः हराउँदै गएको स्थानीयको अनुभव छ । तर, यसको वास्तविक कारणबारे भने अहिलेसम्म विस्तृत अध्ययन वा खोजविन भएको छैन ।

रिब्दीकोट गाउँपालिकाका देउरालीका एक ज्येष्ठ कृषकका अनुसार कुनै समय जिल्लाका भिरपाखा, खेतबारी तथा खाली स्थानमा सहजै पाइने पाती अहिले गाउँबाटै हराइसकेको छ । “कृषकका लागि निकै उपयोगी वनस्पति थियो । तर, अहिले गाउँमा कहीँकतै पनि भेटिँदैन,” उनले भने ।

रम्भा गाउँपालिका–हुमिन फेदीका शिक्षक धर्मु रायमाझी भने जलवायु परिवर्तनसँगै रैथाने वनस्पतिलाई मिचाहा झारले विस्थापित गर्दै गएको हुन सक्ने बताउँछन् । उनका अनुसार वातावरणमा आएको परिवर्तनका कारण पहिले सहजै हुर्कने रैथाने वनस्पतिको अस्तित्व संकटमा परेको हुन सक्छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार पाती वनस्पति र मानव सभ्यतासँग लामो समयदेखि नजिकको सम्बन्ध रहेको वनस्पति हो । यसको प्रयोग घर निर्माणदेखि औषधीय तथा सांस्कृतिक कार्यसम्म हुँदै आएको थियो ।

“पाती हराउनुको प्रमुख कारण जलवायु परिवर्तन हुन सक्छ । चिस्यानयुक्त ठाउँ क्रमशः सुक्खा हुँदै जानु र वातावरण मिचाहा वनस्पतिका लागि अनुकूल बन्दै जानुले खेतबारीमा पाइने औषधीय तथा उपयोगी वनस्पति हराउने क्रम बढेको छ,” तामाङले बताए ।

उनका अनुसार अहिले पाती जस्तै देखिने जङ्गली झार भने देखिन थालेको छ । पाती हराउनुमा जलवायु परिवर्तनसँगै मानवीय गतिविधिको समेत भूमिका रहेको हुन सक्ने उनको भनाइ छ । गाउँमा डोजरको प्रयोग बढेसँगै चिस्यानयुक्त स्थान पुरिने, जमिनको स्वरूप परिवर्तन हुने तथा प्राकृतिक वासस्थान नष्ट हुने क्रम बढेको स्थानीयको अनुभव छ ।

पाल्पाका भिरपाखा, खेतबारी तथा अन्य स्थानमा सहजै उपलब्ध हुने पातीबाट केही वर्षअघि झुम्सामा तेल निकाल्ने उद्योगसमेत सञ्चालन गरिएको थियो । तर, अहिले पातीको कच्चा पदार्थ अभाव भएपछि उक्त उद्योग पूर्ण रूपमा बन्द भएको स्थानीय गुरु प्रसाद शर्मा बताउँछन् ।

“पहिले पाती पर्याप्त पाइन्थ्यो । त्यसैबाट तेल निकाल्ने उद्योग पनि सञ्चालन भएको थियो । अहिले कच्चा पदार्थ नै नपाएपछि उद्योग बन्द भएको छ,” शर्माले भने ।

स्थानीयका अनुसार पातीको संरक्षण र पुनः विस्तार गर्न सके यसबाट आर्थिक लाभसमेत लिन सकिन्छ । पातीलाई संरक्षण गर्दै यसको व्यावसायिक उत्पादन बढाउन सके बन्द भएको तेल उद्योग पुनः सञ्चालन गर्न सकिने र पातीको तेल बाहिरी मुलुकमा समेत निर्यात गर्न सकिने सम्भावना रहेको उनीहरूको भनाइ छ ।

रैथाने तथा बहु उपयोगी वनस्पतिको संरक्षणका लागि स्थानीय तह, वन कार्यालय र समुदायबिच समन्वय गरी पातीको अवस्थाबारे अध्ययन गर्नुपर्ने स्थानीयको माग छ । हराउँदै गएको पातीको संरक्षण र पुनः विस्तारका लागि समयमै पहल गर्न सके यसले वातावरणीय संरक्षणसँगै स्थानीयको परम्परागत ज्ञान, संस्कृति र सम्भावित आर्थिक आम्दानीलाई समेत जोगाउन सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?