Butwal Today

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

१ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् ।

सोमबार बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन् । साउन ६ गते नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक बोलाइएको थियो ।

बहुमत सदस्यको समर्थन प्राप्त हुने अवस्था नदेखिएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन् । बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी  (हानेपा)  का दुई गरी ३८ सांसदको मात्रै समर्थन देखिएपछि मुख्यमन्त्री बानियाँले राजीनामा दिने घोषणा गरेका हुन् ।

बानियाँ २० साउन २०८२ मा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । आफ्नै दलभित्र शक्ति प्रदर्शन गर्दै प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका बानियाँ एक वर्ष नपुग्दै सत्ताबाट बाहिरिएका छन् ।

प्रदेश सभालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा प्रदेशवासीको हितमा धेरै काम गरेको दाबी गरे । अझै धेरै काम गर्न बाँकी रहे पनि राजनीतिक परिवेशका कारण राजीनामा दिनुपरेको उनले बताए ।

उनले संवैधानिक तथा संसदीय व्यवस्थाअनुसारको अभ्यास र संसदीय मर्यादा कायम गर्ने विषयमा अझै केही कुरा व्यवस्थित गर्न बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?