© 2026
सिद्धार्थनगर ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरले आयोजना गरेको अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा प्रथम आदर्श विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल भएको छ । प्रतियोगितामा न्यु इरा इङ्लिस बोर्डिङ स्कुल दोस्रो, पश्चिमाञ्चल हाई स्कुल तेस्रो तथा टाइनी टडलर्स चौथो भएको छ ।
प्याब्सनको नियमित अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजित प्रतियोगितामा सिद्धार्थनगरका करिब २३ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्देश्य विद्यार्थीलाई आफ्नो मौलिक कला, संस्कृति, परम्परा र पहिचानसँग जोड्दै लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य डा। लेखजंग थापाले शिक्षा किताबी ज्ञानमा मात्र सीमित नहुने बताउँदै संस्कृति, कला, सङ्गीत र सभ्यता पनि शिक्षाकै महत्त्वपूर्ण पक्ष भएको उल्लेख गरे ।
सांसद थापाले आफ्नो संस्कृतिबारे जानकारी नहुने व्यक्तिले आफ्नो पहिचानसमेत बुझ्न नसक्ने धारणा राख्दै लोक नृत्य प्रतियोगिताले विद्यार्थीलाई आफ्नो मौलिक संस्कृति र पहिचान बुझ्न महत्त्वपूर्ण अवसर दिएको बताए । नृत्यका क्रममा विद्यार्थीहरूले देखाएको सामूहिक तालमेल र सहकार्यको प्रशंसा गर्दै उनले समाज तथा राष्ट्र निर्माणमा पनि यस्तै सामूहिक प्रयास र सहकार्य आवश्यक रहेको बताए ।
शिक्षकहरूले मार्गदर्शन गरेका विद्यार्थी नै भविष्यमा देशका जिम्मेवार नागरिक, इन्जिनियर तथा विभिन्न क्षेत्रका दक्ष जनशक्ति बन्ने भएकाले शिक्षकको भूमिका अतुलनीय रहेको उनको भनाइ थियो ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले लोक नृत्यले विभिन्न संस्कृतिबिच सम्बन्ध स्थापित गर्ने बताए । प्रतियोगितामार्फत विद्यार्थीहरूले आफ्नै संस्कृति र परम्पराका साथै अन्य समुदायका सांस्कृतिक पक्षबारे समेत सिक्ने र बुझ्ने अवसर पाएको उनले उल्लेख गरे ।
लोक नृत्यले मौलिक पहिचान, परम्परा, पहिरन तथा नृत्य शैलीलाई उजागर गर्ने भएकाले बालबालिकामा आफ्नो संस्कृति र परम्पराप्रति गर्वको भावना विकास गर्नुका साथै यसको संरक्षण र प्रवर्द्धनमा प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मलिकले बताए ।
कार्यक्रम संयोजक प्रतिक मल्लका अनुसार प्याब्सनअन्तर्गतको अन्तर–विद्यालय लोक नृत्य प्रतियोगिता निरन्तरता पाएको चौथो वर्ष हो । यसअघि पनि प्याब्सनका विभिन्न कार्यक्रमअन्तर्गत विद्यालयहरूले लोक नृत्य प्रस्तुत गर्दै आएका थिए ।
यस वर्षदेखि प्रतियोगितामा पहिलो पटक नगद पुरस्कारको व्यवस्था गरिएको संयोजक मल्लले जानकारी दिए । जसअनुसार प्रथम हुने विद्यालयले रु. ५ हजार, द्वितीयले रु. ३ हजार, तृतीयले रु. २ हजार तथा उत्कृष्ट प्रस्तुति दिने अन्य टोलीमध्येबाट एकलाई रु. १ हजार सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीहरू आगामी जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताका लागि छनोट भएका छन् । प्याब्सनको नियमित अतिरिक्त क्रियाकलापअन्तर्गत सञ्चालन हुने यो कार्यक्रम स्थानीय तहबाट सुरु भई जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरसम्म पुग्ने गर्दछ । करिब चारदेखि पाँच महिनासम्म चल्ने यस प्रक्रियामार्फत उत्कृष्ट टोलीले क्रमशः उच्च तहका प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन् ।
लोक नृत्य प्रतियोगिताले विद्यार्थीमा प्रतिभा प्रदर्शनसँगै सांस्कृतिक चेतना, सामूहिक भावना र मौलिक पहिचानप्रतिको सम्मान अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याएको आयोजकको भनाइ छ ।