Butwal Today

अर्घाखाँचीमा बाख्रामा पीपीआर संक्रमण, प्रभावित क्षेत्र सिल

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

अर्घाखाँची ।

अर्घाखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर देखा परेको छ ।

पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को बिष्टबारी र मकैडाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं.८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।

अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसारपसार नगर्न कडाइका साथ निर्देशन दिइएको छ । आदेश उल्लंघन गरी बाख्रा ओसारपसार गरेको पाइएमा स्थानीय प्रहरी जनशक्ति तथा स्थानीय तहबाट रोक्ने व्यवस्था गरिएको छ ।

हालसम्म पीपीआरका कारण २ वटा बाख्रा मरेको र करिब १७–१९ वटा बाख्रामा संक्रमण भएको पाइएको प्रजिअ सुवेदीको भनाइ छ । रोग महामारीका रूपमा फैलिन सक्ने जोखिम देखिएपछि प्रशासनले प्रभावित क्षेत्रका बाख्रा ओसारपसारमा रोक लगाउनुका साथै संक्रमित पशुलाई अलग्गै राखेर उपचार तथा व्यवस्थापन गर्नु पर्नेछ ।

रोग थप क्षेत्रमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

प्रशासनले संक्रमित बाख्रामा रोगका लक्षण देखिनासाथ छुट्टै स्थानमा आइसोलेसन गरी उपचार गर्न भनेको छ । किसानले पालेका सबै बाख्रा तथा भेडामा पीपीआर रोगविरुद्धको खोप अनिवार्य रूपमा लगाउन र आवश्यक परेमा सम्बन्धित स्थानीय तह तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

त्यसैगरी संक्रमित बाख्राको मासु बेचबिखन नगर्न र नगराउन प्रशासनले स्पष्ट निर्देशन दिएको छ । त्यसैले किसानलाई आफ्नो गोठमा रहेका बाख्राको स्वास्थ्य अवस्थाप्रति नियमित निगरानी गर्न, बिरामी पशुलाई स्वस्थ पशुबाट अलग राख्न र अस्वाभाविक लक्षण देखिए तत्काल पशु स्वास्थ्यकर्मीलाई खबर गर्न प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?