© 2026
पाल्पा । पाल्पाका चुरे तथा ग्रामीण क्षेत्रमा पछिल्लो समय तेजपात खेती किसानको आम्दानीको प्रमुख आधार बन्दै गएको छ । अन्नबाली तथा फलफूल वन्यजन्तुबाट जोगाउन कठिन हुन थालेपछि किसान तेजपात खेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्लामा व्यावसायिक रूपमा विस्तार भएको तेजपातबाट पछिल्लो पाँच वर्षमा करिब पाँच अर्ब रुपियाँ भित्रिएको छ ।
निस्दी गाउँपालिका–ज्यामिरेका किसान रामबहादुर सारुले पाँच वर्षअघि अन्नबाली लगाउने आफ्नो सात रोपनी जमिनमा तेजपात लगाएपछि पहिलोपटक साढे सात लाख रुपियाँ आम्दानी गरेका छन् ।
वन्यजन्तुबाट अन्नबाली जोगाउन समस्या हुन थालेपछि तेजपात खेती सुरु गरेका सारू अहिले यसबाट राम्रो आम्दानी भएपछि उत्साहित छन् । ‘पहिले मकै तथा अन्य अन्नबाली लगाउँदा वन्यजन्तुबाट जोगाउनै मुस्किल हुन्थ्यो । तेजपात लगाएपछि त्यस्तो समस्या छैन,’ सारुले भने, ‘पहिलोपटक साढे सात लाख रुपियाँ आम्दानी भयो । अब यसलाई थप विस्तार गर्ने सोचमा छु ।’
ज्यामिरेमा सारू मात्र होइन, अधिकांश किसानको आम्दानीको बलियो आधार तेजपात बनेको स्थानीय किसान तथा पूर्व जनप्रतिनिधि गगनबहादुर सोतीले बताए । उनका अनुसार पछिल्लो समय गाउँका किसानले बाँझो तथा कम उत्पादन हुने जमिनमा समेत तेजपात लगाउन थालेका छन् ।

पाल्पाको निस्दी गाउँपालिकाको अर्चले, ज्यामिरे, माथागढी गाउँपालिकाको गोठादी, तिनाउ गाउँपालिकाको कोलडाँडा, दोभान र कचल, रैनादेवी छहरा गाउँपालिकाको सोमादी, छहरा, बल्डेङगढी र जुठापौवा तथा सत्यवतीलगायतका क्षेत्रमा तेजपातको व्यावसायिक खेती हुँदै आएको छ । जिल्लामा चार हजारभन्दा बढी किसान परिवार तेजपात खेतीमा आबद्ध रहेको बताइएको छ ।
डिभिजन वन कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्मको अवधिमा तेजपातको पात तथा दालचिनीको बोक्रा बिक्रीबाट जिल्लामा चार अर्ब ८० करोड ४२ लाख आठ हजार २५० रुपियाँ भित्रिएको छ । वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार जिल्लाभित्रका व्यापारीसँगै बुटवलका व्यापारीलाई समेत तेजपात बिक्री हुने भएकाले वास्तविक कारोबार रकम अझ बढी हुनसक्ने अवस्था छ ।
वन कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा नौ लाख १८ हजार १८० किलोग्राम पात र एक लाख ९१ हजार १४५ किलोग्राम बोक्रा बिक्री भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा नौ लाख ६६ हजार ३७६ किलोग्राम पात र एक लाख ९० हजार २१४ किलोग्राम बोक्रा बिक्री भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ८१ हजार ७३१ किलोग्राम पात र एक लाख २१ हजार १० किलोग्राम बोक्रा तथा आर्थिक वर्ष २०८२/८३ मा १३ लाख ९२ हजार १४९ किलोग्राम पात र तीन लाख ७१ हजार ३२२ किलोग्राम बोक्रा बिक्री भएको कार्यालयको तथ्याङ्क छ ।
उपलब्ध तथ्याङ्कअनुसार तेजपातको उत्पादन र कारोबार पछिल्ला वर्षमा बढ्दै गएको देखिन्छ । तेजपातको पात मसला तथा विभिन्न खाद्य परिकारमा प्रयोग हुन्छ भने बोक्रालाई दालचिनीका रूपमा प्रयोग गरिन्छ । पातको तुलनामा बोक्राको मूल्य बढी हुने भएकाले किसानका लागि तेजपात दोहोरो आम्दानीको स्रोत बनेको छ । एउटै बोटबाट पात र बोक्रा दुवै बिक्री गर्न सकिने भएकाले किसानको आकर्षण बढेको हो ।
तिनाउ गाउँपालिका–कोलडाँडाका ८० वर्षीय सुनवीर गाहाले कोलडाँडाबाट सुरु भएको तेजपात खेती अहिले जिल्लाका विभिन्न क्षेत्रमा विस्तार भएको बताए । सुरुमा यसको यति ठुलो व्यावसायिक सम्भावना होला भन्ने आफूहरूले कल्पना नगरेको उनको भनाइ छ ।

‘पहिला तेजपातको महत्व र उपयोगिताबारे धेरैलाई जानकारी थिएन । कोलडाँडाबाट यसको खेती गर्ने प्रविधि सिक्दै अन्य गाउँका किसानले पनि व्यावसायिक खेती सुरु गरे,’ गाहाले भने, ‘अहिले जिल्लाकै राम्रो आम्दानीको स्रोत बनेको देख्दा खुसी लाग्छ ।’
ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार भएपछि तेजपातको बजारीकरणसमेत सहज भएको किसान बताउँछन् ।
व्यापारी आफैँ गाउँ–गाउँमा पुगेर तौल गर्ने र खरिद गर्ने भएकाले किसानले उत्पादन बजारसम्म पु¥याउनुपर्ने झन्झट कम भएको छ ।
रैनादेवी छहरा गाउँपालिकाका स्थानीय जनप्रतिनिधि दानबहादुर पौडेलका अनुसार सडक पुगेपछि व्यापारीहरू तौल गर्ने काँटासहित गाउँमै पुग्न थालेका छन् । ‘किसानले ढुवानीको झन्झट गर्नुपर्दैन । व्यापारी नै गाउँमा आएर खरिद गर्ने भएकाले पनि तेजपात खेती विस्तार भएको हो,’ उनले भने ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले ग्रामीण बस्तीका किसानको आयआर्जन बढाउन तेजपात खेतीलाई स्थानीय सरकारले समेत प्रवद्र्धन गर्न थालेको बताए । सडक सञ्जालसँग जोडिएपछि तेजपातको बजारीकरण सहज भएकाले यो बाली ग्रामीण क्षेत्रमा नगदेबालीका रूपमा स्थापित हुँदै गएको उनको भनाइ छ ।पहिले किसानले तेजपात बुटवलको हाटबजारसम्म लगेर बिक्री गर्नुपर्ने अवस्था थियो ।
अहिले भारतीय व्यापारीसमेत स्थानीय क्षेत्रमा पुगेर खरिद गर्न थालेपछि गाउँमै संकलन केन्द्र स्थापना भएका छन् । यसले किसानको उत्पादन बिक्री तथा ढुवानीमा सहजता भएको स्थानीय किसान बताउँछन् ।
डिभिजन वन कार्यालयले पनि तेजपातको विस्तारका लागि किसानलाई बिरुवा उपलब्ध गराउँदै आएको छ । सूचना अधिकारी तामाङका अनुसार तिनाउको दोभान, निस्दीको मित्याल, माथागढीको झडेवा र तानसेनस्थित नर्सरीबाट वार्षिक एक लाखभन्दा बढी तेजपातका बिरुवा वितरण हुँदै आएको छ ।
तेजपात वर्षमा लामो समयसम्म बिक्री गर्न सकिने बाली भएकाले किसानलाई नियमित आम्दानीको स्रोतसमेत बनेको छ । किसानले वर्षका करिब १० महिना यसको पात तथा बोक्रा बिक्री गर्दै आएका छन् । वातावरणीय दृष्टिले समेत तेजपात उपयोगी रहेको वन प्राविधिकहरू बताउँछन् । तेजपात खेती भएका क्षेत्रमा वन डढेलोको जोखिम तुलनात्मक रूपमा कम हुने उनीहरूको भनाइ छ ।
डिभिजन वन कार्यालयका वरिष्ठ वन विकास अधिकृत मुना शर्माले ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन बाँझिने क्रम बढिरहेका बेला त्यस्ता जमिनमा तेजपात लगाउने किसानको संख्या बढ्दै गएको बताए । चुरे पहाडी क्षेत्रमा तेजपात मुख्य नगदेबालीका रूपमा स्थापित हुँदै गएको उनको भनाइ छ ।
‘पहाडी क्षेत्रमा अन्नबाली तथा फलफूल खेतीमा वन्यजन्तुको समस्या बढेपछि किसान वैकल्पिक बालीको खोजीमा छन् ।
तेजपातले एकातर्फ जमिनको उपयोग भएको छ भने अर्कोतर्फ किसानलाई नियमित आम्दानी दिएको छ,’ शर्माले भने ।
तेजपातको उत्पादन बढ्दै गए पनि यसको प्रशोधन भने जिल्लाबाहिर हुने गरेको छ । जिल्लामै प्रशोधन उद्योग स्थापना गर्न सके किसानले उत्पादनको थप मूल्य पाउने र रोजगारीका अवसरसमेत सिर्जना हुने व्यवसायीको भनाइ छ ।
व्यवसायी गुरु प्रसाद शर्माका अनुसार तेजपातबाट जिल्लाभर प्रत्यक्ष रूपमा करिब एक हजार पाँच जनाले रोजगारीको अवसर पाएका छन् । जिल्लामै प्रशोधन केन्द्र स्थापना गर्न सके ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुनुका साथै यसको निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने सम्भावना रहेको उनले बताए ।
तेजपात खेतीले वन तथा बाँझो जमिनको उपयोग, किसानको आयआर्जन, रोजगारी र स्थानीय व्यापारलाई एकसाथ अघि बढाएको छ । यसको उत्पादन, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्न सके पाल्पामा तेजपात अझ ठुलो आर्थिक सम्भावनाको क्षेत्र बन्न सक्ने देखिएको छ ।