Butwal Today

३५ करोडमा अड्किएको अर्बको सपना

२५ श्रावण २०८३, सोमबार
अ+
अ-

अर्घाखाँची । नेपाल भ्रमणमा आउने धेरै विदेशी पर्यटकको पहिलो गन्तव्य लुम्बिनी हुन्छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि लुम्बिनी–ढोरपाटन यात्रा छोटो हुने अपेक्षा गरिएको छ ।

पर्यटकले एउटै यात्रामा बुद्धको जन्मस्थल, पाल्पाको सांस्कृतिक पहिचान, अर्घाखाँचीका धार्मिक तथा ऐतिहासिक स्थल, गुल्मीका पहाडी बस्ती र अन्ततः ढोरपाटनको हिमाली वन्यजीवन अनुभव गर्न सक्नेछन् । जहाँ धार्मिक, सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटन एउटै सडकमार्फत जोडिन्छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक परियोजनाले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलाई जोड्ने छ ।

रूपन्देहीको सालझण्डीबाट सुरु हुने यो सडक पाल्पाको खुर्साने, अर्घाखाँचीको पटौटी, मैदान र सदरमुकाम सन्धिखर्क, गुल्मीको पुर्कोटदह र अर्खाबाङ हुँदै बागलुङको ढोरपाटन पुग्छ । १९७ किलोमिटर लामो यस मार्गले हिमाल र तराईलाई जोड्ने छोटो दूरीको विकल्प उपलब्ध गराउने भएकाले पर्यटन, व्यापार, कृषि, सेवा र रोजगारीका दृष्टिले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना आर्थिक वर्ष ०६६/६७ मा स्थापना भएको हो । १९७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यका साथ अर्घाखाँचीको सन्धिखर्कमा आयोजना कार्यालय स्थापना गरिएको थियो । आर्थिक वर्ष ०८०/८१ सम्म जम्मा १८ किलोमिटर मात्रै कालोपत्रे सम्पन्न भएको थियो । आर्थिक वर्ष ०८१/८२ मा थप ४.५ किलोमिटर र आर्थिक वर्ष ०८२/८३ मा थप २४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यससँगै हालसम्म ४६.५ किलोमिटर पक्की सडक निर्माण सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

विशेषगरी पछिल्लो आर्थिक वर्षमा सम्पन्न गरिएको २४ किलोमिटर कालोपत्रे आयोजनाको अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक उपलब्धि मानिएको छ । आयोजना प्रमुख भण्डारीका अनुसार सडकलाई निर्धारित समयमै सम्पन्न गर्न पर्याप्त बजेट आवश्यक छ । उनका अनुसार यदि प्रत्येक वर्ष एक अर्ब रुपियाँ बजेट विनियोजन हुने हो भने आयोजना पाँच वर्षभित्र सम्पन्न गर्न सकिन्छ ।

आर्थिक वर्ष ०८३/८४ मा ४० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित एक अर्ब रुपियाँ बजेट माग गरिएको थियो । तर संघीय सरकारले ३५ करोड रुपियाँ मात्रै विनियोजन गरेको छ । भण्डारीका अनुसार उक्त रकमले अधिकतम १० किलोमिटर सडक मात्रै कालोपत्रे गर्न सकिन्छ । उनले भने, “बजेटको सुनिश्चितता भए निर्माणको गति अझै तीव्र बनाउन सकिन्छ । अहिले स्रोत सीमित भएकाले लक्ष्यअनुसार काम गर्न कठिन भइरहेको छ ।” यसले आयोजना सम्पन्न हुने समय थप लम्बिने चिन्ता स्थानीय स्तरमा बढाएको छ ।

नेपालकै एकमात्र वैधानिक हिमाली शिकार आरक्षण हो । जहाँ नाउर, झारल, थार, हिमाली चराचुरुङ्गी तथा विविध वनस्पतिको संरक्षण गरिएको छ । सीमित कोटामा विदेशी शिकारी पर्यटकलाई अनुमति दिइने भएकाले यो क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित छ ।

हाल ढोरपाटन पुग्न धेरै पर्यटकले लामो घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ । सडक योजना कार्यालयका प्रमुख इन्जिनियर गागलकुमार भण्डारीका अनुसार सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक छोटो दूरीको मार्ग भएकाले भविष्यमा ढोरपाटन जाने स्वदेशी तथा विदेशी पर्यटकको ठूलो हिस्सा यही मार्ग प्रयोग गर्न सक्ने सम्भावना छ । “सडक निर्माण सम्पन्न भएर नियमित यातायात सञ्चालनमा आएपछि पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउनेछ ।

पर्यटक बढेपछि रूपन्देहीदेखि पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङसम्मका जिल्लामा आर्थिक गतिविधि बढ्नेछ ।” सडकले केवल यात्रालाई सहज बनाउने होइन, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई पनि थप मजबुत बनाउनेछ ।

नेपाल भ्रमणमा आउने अधिकांश विदेशी पर्यटकले लुम्बिनीलाई प्राथमिक गन्तव्य बनाउने गरेका छन् । सडक निर्माण सम्पन्न भएपछि उनीहरूलाई बुद्ध जन्मस्थल अवलोकनपछि पहाडी तथा हिमाली पर्यटनको अनुभव लिन सहज हुनेछ ।

ढोरपाटन जाने पर्यटक अनिवार्य रूपमा अर्घाखाँची हुँदै यात्रा गर्ने भएकाले जिल्लाका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचार–प्रसार हुने अपेक्षा गरिएको छ । सुपा देउराली, अर्घा दरबार क्षेत्र, पाणिनी क्षेत्र, विभिन्न धार्मिक मन्दिर, ग्रामीण बस्ती र प्राकृतिक दृश्यावलोकनका स्थलहरूमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताएका छन् । सडक सञ्चालनपछि होटल, होमस्टे, रेष्टुरेन्ट, यातायात सेवा, स्थानीय कृषि उत्पादन र हस्तकलाले नयाँ बजार पाउनेछन् ।

प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकलाई बहुआयामिक आयोजना भएको बताएका छन् । उनले भने, “यो केवल सडक निर्माणको परियोजना होइन । यसले पर्यटन, कृषि, व्यापार, उद्योग र रोजगारीलाई एकैसाथ जोड्छ । यही बाटो भएर विदेशी तथा स्वदेशी पर्यटक जिल्लामा भित्रिँदा अर्घाखाँचीको आर्थिक गतिविधि उल्लेखनीय रूपमा बढ्नेछ ।”

सडक निर्माण सम्पन्न भएपछि कृषि उत्पादनको ढुवानी सहज हुने, नयाँ बजार विस्तार हुने र पर्यटनसँग सम्बन्धित व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ । पहाडी जिल्लामा उत्पादन हुने सुन्तला, अदुवा, मह, तरकारी, आलु, दुग्धजन्य पदार्थ तथा अन्य कृषि उपज तराईका बजारसम्म छिटो र कम लागतमा पुग्नेछन् । त्यस्तै तराईबाट आवश्यक उपभोग्य सामग्री र निर्माण सामग्री पहाडी क्षेत्रमा सहज रूपमा पुग्ने वातावरण बन्नेछ ।

यातायात सहज भएपछि होटल, रेष्टुरेन्ट, इन्धन, सवारी मर्मत, बैंकिङ, सञ्चार, होमस्टे, पर्यटन मार्गदर्शनलगायतका क्षेत्रमा समेत रोजगारी सिर्जना हुने विश्वास गरिएको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले लुम्बिनी प्रदेशको धार्मिक पर्यटनलाई गण्डकी प्रदेशको हिमाली पर्यटनसँग जोड्ने ऐतिहासिक अवसर सिर्जना गरेको छ ।

सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि बुद्ध जन्मस्थल लुम्बिनीदेखि नेपालको एकमात्र हिमाली शिकार आरक्षण ढोरपाटनसम्मको यात्रा सहज, छोटो र आकर्षक बन्नेछ ।

हालसम्म ४६.५ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको अवस्थामा बाँकी निर्माणलाई तीव्रता दिन पर्याप्त बजेट र निरन्तर राजनीतिक प्रतिबद्धता आवश्यक देखिएको छ ।

यदि आवश्यक स्रोत सुनिश्चित गर्न सकियो भने यो सडकले केवल दुई प्रदेशलाई मात्र होइन, हिमाल र तराई, पर्यटन र व्यापार, तथा स्थानीय विकास र राष्ट्रिय अर्थतन्त्रलाई जोड्ने एउटा महत्त्वपूर्ण जीवन रेखाका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?