काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिँदै त्यसको सामना गर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीका कामहरू विधानसम्मत भएकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।
बैठकमा थापाले काँग्रेसको विशेष महाधिवेशन विधानसम्मत ढङ्गले सम्पन्न भएको र त्यसलाई निर्वाचन आयोगले पनि कानुनअनुसार नै अद्यावधिक गरेको स्मरण गराए । उनले भने, ‘हाम्रो विशेष महाधिवेशन विधानसम्मत छ । निर्वाचन आयोगले पनि यसलाई कानुनसम्मत ठहर गर्दै अभिलेखीकरण गरिसकेको छ ।’
पार्टीको निर्णयप्रति चित्त नबुझाएका केही व्यक्तिहरू सर्वोच्च अदालत पुगेको र सुरुमा अदालतले पनि विशेष महाधिवेशनकै पक्षमा निर्णय दिएको उल्लेख गर्दै थापाले अहिले असन्तुष्ट पक्ष पुनरावलोकन निवेदन लिएर अदालत पुगेको बताए । ‘अहिले असन्तुष्ट पक्ष पुनरावलोकन निवेदन लिएर जानुभएको छ र अदालतले त्यसको अनुमति दिएको छ । यो न्यायिक प्रक्रियाको एउटा पाटो हो,’ उनले भने ।
महामन्त्री थापाले अदालतको पछिल्लो कदमबाट विचलित हुन नपर्ने बताए । काँग्रेस अब आत्मविश्वासका साथ अदालतमा जाने र आफ्ना प्रमाणहरू पेस गर्ने उनको भनाइ छ । अदालतमा एक पटक सत्य ठहरिएको कुरा फेरि पनि सत्य नै हुन्छ । हामीलाई न्यायालयप्रति विश्वास छ,’ थापाले भने ।
उनले कानुनी लडाइँभन्दा पनि पार्टीका नेता तथा कार्यकर्ताबिचको विश्वास ठुलो कुरा भएको बताए । पार्टीभित्रको एकता र भरोसा नै काँग्रेसको सबैभन्दा ठुलो शक्ति भएको उनको भनाइ छ ।
‘हामी कानुनी रूपमा त बलिया छौँ नै, तर त्योभन्दा बढी विश्वास हामीले आफ्ना साथीहरू (कार्यकर्ता) माथि राख्नुपर्छ । पार्टीभित्रको एकता र भरोसा नै हाम्रो सबैभन्दा ठुलो शक्ति हो,’ थापाले भने ।