© 2026
काठमान्डौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक सङ्कटबाट मुक्त गर्न राप्रपा बलियो हुनुपर्ने बताएका छन् ।
राप्रपा काठमाडौँ महानगरपालिका नगर समितिको अधिवेशनलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आगामी महाधिवेशनलाई पार्टीसँगै देशको राजनीतिक भविष्यका लागि ‘कोशेढुङ्गा’ का रूपमा चित्रण गरे ।
राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आगामी मङ्सिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेसँगै सम्पूर्ण पार्टी पङ्क्ति त्यसको तयारीमा केन्द्रित भएको उनले जानकारी दिए ।
विगतका ठुला दलप्रति जनताको आक्रोश र नयाँ शक्तिप्रतिको आशाका बीच वर्तमान राजनीतिक समीकरण निर्माण भए पनि छोटो समयमै मुलुकमा चरम निराशा छाएको लिङदेनको भनाइ छ । दैनिक ज्याला–मजदुरी गर्ने श्रमिकदेखि निजी क्षेत्रसम्म असुरक्षित र आतङ्कित महसुस गर्ने अवस्था रहेको उनले दाबी गरे ।
‘अहिले राप्रपाका सम्पूर्ण नेता तथा कार्यकर्ताको मुख्य लक्ष्य मङ्सिरमा हुने महाधिवेशन हो । यो महाधिवेशन राप्रपाका लागि मात्र नभई समग्र नेपाली राजनीतिको दिशा परिवर्तन गर्ने माध्यम बन्नेछ,’ उनले भने ।
देशमा महँगीले सीमा नाघेको र बजारमा कृत्रिम अभाव व्याप्त भए पनि त्यसबारे बोल्ने कोही नभएको उनको आरोप छ । मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूहमा फसेको उल्लेख गर्दै उनले गरिब, सुकुम्बासी तथा आमसर्वसाधारणका पक्षमा उभिने जिम्मेवारी राप्रपाको काँधमा आएको बताए ।
देशलाई विद्यमान सङ्कटबाट मुक्त गर्न राप्रपाले नयाँ सोच र दृष्टिकोणका साथ जनतामाझ जानुको विकल्प नरहेको लिङदेनले उल्लेख गरे । स्थानीय तहमा भइरहेका अधिवेशनलाई महाधिवेशनको पूर्वतयारीसँगै सङ्गठन सुदृढीकरणको महत्त्वपूर्ण आधारका रूपमा उपयोग गर्न उनले कार्यकर्तालाई निर्देशन दिए ।