© 2026
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन नियमावलीका लागि प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ ।
सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रदेश अनुसन्धान, प्रशिक्षण तथा प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा इटहरी उपमहानगरपालिका–४ निवासी अनिता गुरागाईंलाई नियुक्त गरिएको जानकारी दिए ।
मन्त्री लिंथेपका अनुसार सुन्दरहरैँचा नगरपालिकाको हाल रहेको केन्द्र साविक वडा नं. १२ बाट वडा नं. ८ मिरगोलिया सार्न नगरपालिकाको मागअनुसार सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै, प्रदेश युवा परिषद्सम्बन्धी विधेयक तर्जुमा गर्न अवधारणापत्र तयार पार्न सैद्धान्तिक सहमति दिने तथा वृद्धिमुखी कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्द्धन कार्यान्वयन कार्यविधि, २०८२ खारेज गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।