© 2026
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि संसद्मा उठाउँदै आएका विषयमा स्पष्ट पार्न सरकार र सभामुखको ध्यानाकर्षण गराए ।
बढ्दो महँगी नियन्त्रण गर्न र खाना पकाउने ग्यासको अभाव हटाउन अनुरोध गर्दै उनीहरूले संसद्मा उठाएका माग सम्बोधन हुनुपर्नेमा जोड दिए ।
बैठकमा समय लिएर नेकपा (एमाले) का सांसद कृपाराम रानाले नेपालको नक्सामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा पछिल्ला दिनमा विभिन्न टिप्पणी भइरहेकाले त्यसबारे स्पष्ट पार्न सरकारसँग अनुरोध गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्लाई व्यवस्थित, मर्यादित र नियमावलीबमोजिम सञ्चालन गर्ने सभामुखको इच्छाप्रति सम्मान व्यक्त गर्दै प्रधानमन्त्रीले यसअघि संसद्मा जमिन मिचिएको सन्दर्भमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।
श्रम संस्कृति पार्टीका ध्रुवराज राईले आफूहरूले उठाएका विषयमा सरकारले जवाफ नदिएको र सभामुखले पनि समाधानको उपाय नखोजेको भन्दै आपत्ति जनाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सुनसरी र सिरहामा हालै भएका घटनामा मृतक तथा घाइते परिवारसँग भएका सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराइन् ।