Butwal Today

उद्योगीको घरमा छापा मारेको घटनापछि कोशीका डिआइजीले व्यवसायीहरूसँग छलफल गर्दै

१९ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी शेखर खनालले उद्योगी–व्यवसायीहरूसँग छलफल गर्ने भएका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर–७, गोश्वारास्थित प्रतिष्ठित औद्योगिक घराना देवेनरा समूहका संस्थापक बेनीगोपाल मुन्दडाको घरमा छापा मारेको थियो ।

प्रहरीले करिब पाँच घण्टासम्म खानतलासी गरे पनि कुनै शंकास्पद वस्तु फेला नपरेपछि टोली त्यहाँबाट फर्किएको थियो ।

अपुष्ट सूचनाको आधारमा छापा मारेर निजी क्षेत्रलाई आतंकित बनाएको भन्दै उद्योगी–व्यवसायीहरूले विरोध जनाइरहेका बेला डिआइजी खनालले छलफलका लागि व्यवसायीहरूलाई बोलाएका हुन् ।

खनालले प्रहरीले निजी क्षेत्रलाई आतंकित बनाउने उद्देश्य नराखेको स्पष्ट पारे । निजी क्षेत्रलाई आतंकित बनाउन खोजेका होइनौं । यही विषयमा आज व्यवसायीहरूसँग छलफल गर्दैछौं,’ उनले भने ।

मोरङ प्रहरीले ‘विशेष सूचना’ प्राप्त भएको भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरी उद्योगी मुन्दडाको घरमा छापा मारेको थियो । तर उक्त विशेष सूचना के थियो भन्नेबारे प्रहरीले सार्वजनिक गरेको छैन ।

यस घटनाप्रति असन्तुष्टि जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी तथा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।

डिआइजी खनालले उक्त घटनाबारे पनि जिल्ला प्रहरी कार्यालयसँग जानकारी लिने बताएका छन् ।

‘यो घटना के भएको हो भन्ने विषयमा पनि बुझ्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?