Butwal Today

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी, एलपी ग्यासको अभाव, दलित समुदायमाथिको विभेद, सीमा विवाद तथा जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण उपभोक्ता मारमा परेको बताए । सांसद विष्णुकुमारी सापकोटाले महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरिन् ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव, खाद्यवस्तुको बढ्दो मूल्य तथा विषादीयुक्त खाद्य पदार्थका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको बताए ।

सांसद पदमबहादुर परियारले दलित समुदायमाथि हुने विभेद अझै अन्त्य हुन नसकेको उल्लेख गरे । सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुकको मृत्यु प्रकरणमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गरिन् । सांसद विष्णुदेवी पुडासैनीले १० वर्षदेखि निष्क्रिय रहेका बैंक खातामा रहेको रकम सार्वजनिक हितमा उपयोग गर्नुपर्ने धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?