Butwal Today

रामग्राम स्तूपमा पहिलो पटक ५ भिक्षुद्वारा वर्षावास सुरु

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

नवलपरासी । विश्वकै एक मात्र अविच्छिन्न (शिलबन्दी) बुद्धधातु रहेको मानिने पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तूप परिसरमा आधुनिक इतिहासमै पहिलो पटक पाँच जना बौद्ध भिक्षुले सामूहिक रूपमा तीनमहिने वर्षावास (वस्सा) सुरु गरेका छन्।

यसलाई स्थानीय बौद्ध समुदायले रामग्राम स्तूपमा बौद्ध परम्पराको पुनर्जागरणका रूपमा लिएका छन् । बौद्ध धर्मअनुसार वर्षायाममा भिक्षुहरूले एकै स्थानमा बसेर ध्यान, साधना, धर्मदेशना तथा विनय अभ्यास गर्ने परम्परा छ ।

सोही परम्पराअनुसार यस वर्ष असार पूर्णिमादेखि कार्तिक ९ गतेसम्म सञ्चालन हुने पहिलो वर्षावास रामग्राम नगरपालिका–७ उज्जैनीस्थित रामग्राम स्तूप परिसरमा सुरु गरिएको हो । स्थानीय उपासक तथा पूर्व वडाध्यक्ष रामाशंकर हरिजनका अनुसार ‘प्रथम वर्षावास–२०८३’ नाम दिइएको यस धार्मिक अनुष्ठानमा भन्ते प्रज्ञाकीर्ति, भन्ते विनयशीलकीर्ति, भन्ते दयानन्दकीर्ति, भन्ते करुणाकीर्ति र भन्ते मोग्गलायन सहभागी छन् ।

उनका अनुसार प्राचीनकालमा रामग्राम स्तूप आसपास भिक्षुहरू बसेर ध्यान, साधना तथा पूजा–आराधना गर्ने गरेको ऐतिहासिक उल्लेख पाइए पनि आधुनिक समयमा यहाँ विधिवत् वर्षावास सञ्चालन भएको यो पहिलो अवसर हो । यसले रामग्राम क्षेत्रको बौद्ध धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्वलाई थप उजागर गर्ने विश्वास गरिएको उनले बताए ।

हरिजनका अनुसार बौद्ध विनय परम्परामा वर्षायामका तीन महिना भिक्षुहरू एउटै स्थानमा बस्ने व्यवस्था भगवान् गौतम बुद्धले प्रारम्भ गर्नुभएको मानिन्छ। वर्षाको समयमा जीवजन्तुको संरक्षण, यात्रामा हुने कठिनाइ तथा धर्मदेशना सञ्चालनको सहजताका लागि बुद्धले सारनाथको ऋषिपत्तन क्षेत्रमा पहिलो वर्षावास बस्नुभएको बौद्ध ग्रन्थहरूमा उल्लेख रहेको उनले बताए ।

उक्त परम्परालाई निरन्तरता दिँदै भगवान् बुद्धको पवित्र अष्टधातु रहेको विश्वास गरिने रामग्राम स्तूप परिसरमा पहिलो पटक वर्षावास सुरु गरिएको उनले जानकारी दिए ।

रामग्राम स्तूपलाई बौद्ध इतिहासमा विशेष महत्वका साथ हेरिन्छ। बौद्ध परम्पराअनुसार भगवान् बुद्धको महापरिनिर्वाणपछि उहाँका अस्थिधातु आठ भागमा विभाजन गर्दा कोलिय राजाहरूले प्राप्त गरेको धातु यही स्थानमा स्थापना गरी स्तूप निर्माण गरिएको मानिन्छ ।

त्यसपछि सम्राट अशोकले बुद्धधातु संकलन गर्ने क्रममा अन्य सात स्तूप उत्खनन गरे पनि रामग्राम स्तूपलाई भने यथावत् छाडेको बौद्ध इतिहासमा उल्लेख गरिएको छ । यही कारण रामग्राम स्तूपलाई बुद्धधातु सुरक्षित रहेको विश्वकै एक मात्र मौलिक स्तूपका रूपमा व्याख्या गरिन्छ ।

स्थानीय बौद्ध उपासकहरूका अनुसार प्राचीनकालमा स्तूप आसपास भिक्षुहरूको बसोबासका लागि विहार, पोखरी तथा उपासक क्षेत्रसमेत निर्माण गरिएको थियो । आधुनिक समयमा पुरातात्त्विक अनुसन्धानपछि ती संरचनाका अवशेषहरू फेला परेका छन् ।

सन १८९८ मा बेलायती पुरातत्त्वविद् डा. डब्लु. होयले रामग्राम स्तूपको पहिचान गरेपछि यस क्षेत्रको अनुसन्धानले गति लिएको थियो। त्यसयता पुरातत्त्व विभाग तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूले यहाँ विभिन्न अध्ययन गरेका छन् । नेपाल सरकारको पुरातत्त्व विभागले गरेको उत्खननका क्रममा प्राचीन विहार, पोखरी तथा उपासक क्षेत्रका अवशेषहरू समेत भेटिएको जनाइएको छ ।

हरिजनले पाँच भिक्षुको वर्षावासले रामग्राम क्षेत्रमा बौद्ध संस्कार र परम्पराको पुनः स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार तीन महिनासम्म भिक्षुहरू यहीँ बस्ने भएकाले श्रद्धालुहरूले नियमित रूपमा भोजनदान, चीवरदान तथा कथिन चीवरदानजस्ता धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

उनले बौद्ध सम्पदाको संरक्षण केवल भौतिक संरचना जोगाएर मात्र सम्भव नहुने उल्लेख गर्दै त्यससँग जोडिएका धार्मिक संस्कार, परम्परा र अभ्यासलाई पनि जीवित राख्न आवश्यक रहेको बताए । रामग्राममा सुरु भएको वर्षावास त्यस दिशामा महत्त्वपूर्ण सुरुआत भएको उनको भनाइ छ ।

बौद्ध समुदायमा रामग्राम स्तूपप्रति विशेष आस्था रहिआएको छ । बौद्ध मान्यताअनुसार श्रद्धापूर्वक स्तूप दर्शन र पूजा–आराधनाले आध्यात्मिक पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।

यही आस्थाका कारण हरेक वर्ष नेपालसहित श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, जापान तथा अन्य बौद्ध धर्मावलम्बी मुलुकबाट हजारौँ तीर्थयात्री रामग्राम स्तूप दर्शनका लागि आउने गरेका छन् ।

स्थानीय बौद्ध समुदायले यस वर्ष सुरु भएको वर्षावासलाई रामग्राम स्तूपको अन्तर्राष्ट्रिय धार्मिक पहिचान अझ सुदृढ बनाउने तथा बौद्ध पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?