Butwal Today

जोखिमपूर्ण सुत्केरी घट्दै

१४ श्रावण २०८३, बिहीबार
अ+
अ-

बाँके । कुनै समय बाँकेको दुर्गम नरैनापुर गाउँपालिकाका गर्भवती महिलाका लागि सुत्केरी हुनु आफैँमा ठुलो जोखिमको विषय थियो ।

प्रसूति वेथा लागेपछि स्वास्थ्य संस्था पुग्न सडकको अभाव, एम्बुलेन्स नहुनु, स्वास्थ्य केन्द्र टाढा हुनु तथा घरमै सुत्केरी गराउने परम्पराका कारण आमा र नवजात शिशुको ज्यान जोखिममा पर्ने घटना सामान्य मानिन्थ्यो । कतिपय महिलाले उपचार नपाएर बाटोमै बच्चा जन्माउने अवस्था पनि आउँथ्यो भने जटिल प्रसूतिका कारण अनाहकमा ज्यान गुमाउनुपर्ने पीडा पनि व्यहोर्नुपथ्र्यो ।

तर पछिल्ला केही वर्षयता नरैनापुरमा त्यो अवस्था उल्लेखनीय रूपमा फेरिएको छ । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानी, वडास्तरमै वर्थिङ सेन्टर स्थापना, दक्ष स्वास्थ्यकर्मीको व्यवस्था, निःशुल्क एम्बुलेन्स सेवा तथा समुदायमा बढेको जनचेतनाका कारण अहिले संस्थागत सुत्केरीको दर निरन्तर बढिरहेको छ । गाउँपालिकाका वर्थिङ सेन्टरहरू सुरक्षित मातृत्वका भरपर्दा केन्द्रका रूपमा स्थापित हुँदै गएका छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नरैनापुरका विभिन्न वर्थिङ सेन्टरबाट १ हजार १५१ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या १ हजार १२३ रहेको थियो । एक वर्षमै संस्थागत सुत्केरीको सङ्ख्या बढ्नुले गर्भवती महिलामा स्वास्थ्य संस्थाप्रति विश्वास बढेको र सुरक्षित मातृत्वसम्बन्धी चेतनामा उल्लेखनीय सुधार आएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले केही वर्षअघिसम्म सामान्य प्रसूतिका लागि समेत नेपालगञ्ज वा भारतका सीमावर्ती अस्पताल धाउनुपर्ने बाध्यता रहेको स्मरण गरे । अहिले भने अधिकांश महिलाले आफ्नै गाउँपालिकाभित्र सुरक्षित रूपमा सुत्केरी सेवा पाउन थालेको उनले बताए ।

उनका अनुसार गणतन्त्रपछि गाउँपालिकामा सडक, विद्युत्, स्वास्थ्य संस्था र दक्ष जनशक्तिको विस्तारसँगै स्वास्थ्य सेवामा गुणात्मक परिवर्तन आएको छ। प्रत्येक वडामा सञ्चालनमा रहेका वर्थिङ सेन्टरले दुर्गम बस्तीका महिलालाई घरनजिकै सुरक्षित प्रसूति सेवा उपलब्ध गराइरहेका छन् । यसले मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा समेत महत्त्वपूर्ण योगदान पुगेको अध्यक्ष शाहको भनाइ छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार पहिले धेरै महिलाले घरमै सुत्केरी गराउने वा अन्तिम अवस्था पुगेपछि मात्रै स्वास्थ्य संस्थामा आउने गर्थे । अहिले भने गर्भ रहेदेखि नै नियमित गर्भ परीक्षण गर्ने, स्वास्थ्यकर्मीको सल्लाह लिने र निर्धारित समयमा वर्थिङ सेन्टरमा पुगेर सुरक्षित प्रसूति गराउने प्रवृत्ति बढेको छ ।

उनका अनुसार गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्म चौबीसै घण्टा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा सञ्चालन भइरहेको छ । दुर्गम बस्तीका गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थामा ल्याउन गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । जटिल अवस्था देखिएमा तत्काल भेरी अस्पताल, नेपालगञ्जमा निःशुल्क रेफर गर्ने तथा बिरामी ओसारपसारको व्यवस्थासमेत गाउँपालिकाले गर्दै आएको छ ।

स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा वडा नम्बर १ मा १८६, वडा नम्बर २ मा १७४, वडा नम्बर ३ मा १०१, वडा नम्बर ४ मा २५४, वडा नम्बर ५ मा २८६ र वडा नम्बर ६ मा १५३ जना महिलाले वर्थिङ सेन्टरमार्फत सुरक्षित प्रसूति सेवा लिएका छन् । सबैभन्दा धेरै प्रसूति सेवा वडा नम्बर ५ मा र सबैभन्दा कम वडा नम्बर ३ मा भएको तथ्याङ्कले देखाएको छ ।

वडा नम्बर–१ स्थित कटकुइया स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना गुरुङका अनुसार नरैनापुरमा पछिल्ला वर्षहरूमा सबैभन्दा ठुलो परिवर्तन समुदायको सोचमा आएको छ । पहिले धेरैजसो परिवारले घरमै सुत्केरी गराउनुपर्ने परम्परा पछ्याउने गरेका थिए । अस्पताल जान डराउने, खर्चिलो हुन्छ भन्ने भ्रम पाल्ने र अन्तिम अवस्थामा मात्रै स्वास्थ्य संस्था पुग्ने अवस्था थियो ।

उनका अनुसार अहिले गर्भवती महिलाले गर्भ रहेको जानकारी पाएदेखि नै नियमित स्वास्थ्य परीक्षण गराउन थालेका छन् । सुत्केरी हुने समय नजिकिँदै जाँदा स्वास्थ्य संस्थासँग सम्पर्क गर्ने, आवश्यक तयारी गर्ने तथा सुरक्षित वातावरणमा प्रसूति गराउने चलन बढेको छ ।

अनमी गुरुङले गाउँ–गाउँमा पुगेर गरिएको स्वास्थ्य शिक्षा, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता, परिवारका सदस्यको सहयोग र गाउँपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्स सेवाले समुदायमा सकारात्मक परिवर्तन ल्याउन ठुलो भूमिका खेलेको बताइन् ।

उनले भनिन्, “सुत्केरी सामान्य प्रक्रिया जस्तो देखिए पनि कुनै पनि बेला जटिल अवस्था आउन सक्छ । प्रशिक्षित स्वास्थ्यकर्मीको निगरानीमा हुने प्रसूति नै आमा र शिशु दुवैका लागि सुरक्षित हुन्छ । अहिले आमाहरूको आत्मविश्वास निकै बढेको छ । धेरै महिलाले आफन्त र छिमेकीलाई समेत घरमा होइन, स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रेरित गरिरहेका छन् । यो हाम्रो लागि ठुलो उपलब्धि हो ।”

उनका अनुसार अझै केही दुर्गम बस्तीमा पुराना सामाजिक मान्यता पूर्ण रूपमा हट्न नसके पनि संस्थागत सुत्केरीप्रतिको आकर्षण निरन्तर बढिरहेको छ । स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउँदा जटिल अवस्था आए तत्काल उपचार गर्न सकिने भएकाले मातृ तथा शिशु मृत्युदर घटाउन सहयोग पुगेको उनले भनिन् ।

स्थानीय वासीहरूका अनुसार वर्थिङ सेन्टर सञ्चालनमा आएपछि प्रसूति सेवाका लागि लामो दूरी पार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । समयमै सेवा पाउने सुविधा बढेसँगै गर्भवती महिलामा आत्मविश्वास बढेको छ भने परिवारका सदस्य पनि स्वास्थ्य संस्थामै सुत्केरी गराउन उत्साहित भएका छन् ।

स्वास्थ्य विज्ञहरूका अनुसार संस्थागत सुत्केरी बढ्नु सुरक्षित मातृत्वको महत्त्वपूर्ण सूचक हो । गर्भावस्थादेखि नियमित स्वास्थ्य परीक्षण, दक्ष स्वास्थ्यकर्मीको निगरानीमा प्रसूति तथा आकस्मिक अवस्थामा तत्काल उपचारको व्यवस्था हुनुले मातृ तथा नवजात शिशुको मृत्यु जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत पुग्छ ।

कुनै समय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुर अहिले सुरक्षित मातृत्वको क्षेत्रमा सकारात्मक परिवर्तनको उदाहरण बन्दै गएको छ । स्थानीय सरकारको प्रतिबद्धता, स्वास्थ्यकर्मीको निरन्तर सेवा, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता र समुदायमा बढ्दो जनचेतनाले जोखिमपूर्ण घरायसी सुत्केरीलाई संस्थागत सुरक्षित प्रसूतिमा रूपान्तरण गरिरहेको छ ।

यसले दुर्गम क्षेत्रका महिलाले पनि गुणस्तरीय मातृ स्वास्थ्य सेवा सहज रूपमा पाउन सक्ने वातावरण सिर्जना भएको स्वास्थ्यकर्मीहरूको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?