Butwal Today

लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड डिभिजन वन अधिकृत विजयराज सुबेदीलाई

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

अर्घाखाँची । नेपाल  वन प्राविधिक सङ्घ, लुम्बिनीको आयोजनामा पहिलो पटक स्थापना गरिएको लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड  डिभिजन वन अधिकृत विजयराज सुबेदी लाई प्रदान गरिएको छ।

वन क्षेत्रमा उत्कृष्ट व्यावसायिक योगदानको कदर गर्दै स्थापना गरिएको रु। ५० हजार राशिको यो अवार्ड वन क्षेत्रमै पहिलो पटक पेसागत रूपमा घोषणा तथा वितरण गरिएको सम्मानका रूपमा लिइएको छ।

आज आयोजित विशेष समारोहमा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई, नेपाल वन प्राविधिक सङ्घ लुम्बिनीका अध्यक्ष केशव खड्का, नेपाल वन प्राविधिक सङ्घका केन्द्रीय महासचिव गोविन्द दाहाल तथा वन निर्देशनालयका महानिर्देशक ईश्वरी पौडेल ले संयुक्त रूपमा सम्मान पत्रसहित नगद पुरस्कार प्रदान गरी सुबेदीलाई सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै वक्ताहरूले लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड को स्थापना वन क्षेत्रका दक्ष, इमानदार र उत्कृष्ट कार्यसम्पादन गर्ने वन प्राविधिकहरूको सम्मान, मनोबल अभिवृद्धि तथा भावी पुस्तालाई प्रेरणा दिने उद्देश्यले गरिएको बताए। उनीहरूले यस्तो सम्मानले वन क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा, पेसागत उत्तरदायित्व, नवप्रवर्तन तथा उत्कृष्ट कार्य संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

वन तथा वातावरण मन्त्रालय लुम्बिनीका सचिव प्रमोद भट्टराई ले वन क्षेत्रका कर्मचारीहरूको योगदानलाई राज्यले उचित रूपमा मूल्याङ्कन गर्नुपर्ने उल्लेख गर्दै यस्ता सम्मानले कार्यसम्पादनमा थप जिम्मेवारी र उत्प्रेरणा प्रदान गर्ने बताए। उनले वन संरक्षण, दिगो वन व्यवस्थापन तथा जैविक विविधताको संरक्षणमा उत्कृष्ट कार्य गर्ने जनशक्तिलाई सम्मानित गर्ने परम्पराले संस्थागत रूप लिनुपर्ने धारणा राखे।

नेपाल वन प्राविधिक सङ्घ लुम्बिनीका अध्यक्ष केशव खड्का ले अवार्डको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न हुनु सम्पूर्ण वन प्राविधिक समुदायका लागि गौरवको विषय भएको बताए। उनले आगामी वर्षहरूमा समेत निष्पक्ष मूल्याङ्कनका आधारमा उत्कृष्ट वन प्राविधिकलाई सम्मान गर्दै अवार्डलाई अझ प्रभावकारी र प्रतिष्ठित बनाइने जानकारी दिए।

केन्द्रीय महासचिव गोविन्द दाहाल ले यस्ता सम्मान कार्यक्रमले वन प्राविधिकहरूमा पेसागत उत्कृष्टता हासिल गर्ने सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने बताए। उनले वन क्षेत्रको समग्र विकासका लागि दक्ष जनशक्तिको मनोबल उच्च राख्नु आवश्यक रहेको उल्लेख गरे।

वन निर्देशनालयका महानिर्देशक ईश्वरी पौडेल ले वन क्षेत्रका कर्मचारीहरूको मेहनत, इमानदारी र परिणाममुखी कार्यलाई सम्मान गर्न स्थापित यो अवार्डले वन प्रशासनमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे। उनले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सार्वजनिक रूपमा सम्मान गर्ने संस्कृतिले समग्र वन प्रशासनको कार्यक्षमता वृद्धि हुने बताए।

यस वर्षको लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड २०८२ बाट सम्मानित डिभिजन वन अधिकृत विजयराज सुबेदी वन व्यवस्थापन, वन संरक्षण तथा वन अतिक्रमण नियन्त्रण का क्षेत्रमा उल्लेखनीय योगदानका लागि परिचित छन्। उनले विभिन्न जिल्लामा कार्यरत रहँदा वैज्ञानिक वन व्यवस्थापन, वन अपराध नियन्त्रण, अतिक्रमित वन क्षेत्र संरक्षण तथा वन प्रशासनलाई प्रभावकारी बनाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

सम्मान ग्रहणपछि सुबेदीले उक्त अवार्डलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण वन प्राविधिक समुदायको सम्मानका रूपमा लिएको प्रतिक्रिया दिए। उनले आगामी दिनमा वन संरक्षण, दिगो व्यवस्थापन तथा जनसहभागितामा आधारित वन प्रशासनलाई अझ प्रभावकारी बनाउन आफू थप जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल वन प्राविधिक सङ्घ लुम्बिनीले स्थापना गरेको लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्डले वन क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्राविधिकहरूको पहिचान, सम्मान र उत्प्रेरणामार्फत वन क्षेत्रको पेसागत दक्षता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।सङ्घले अनुसार पहिलो संस्करणको सफलतासँगै आगामी वर्षहरूमा पनि नियमित रूपमा अवार्ड प्रदान गरिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?