© 2026
वासिङ्टन । संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) का अनुसार जुलाईमा इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् ।
पेन्टागनले आइतबार अद्यावधिक गरेको ‘डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टम’का अनुसार जुलाई २५ सम्म इरानविरुद्ध सञ्चालन गरिएको अमेरिकी सैन्य अभियान ‘एपिक फ्युरी’का क्रममा १४ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ४१७ जना घाइते भएका छन् ।
हालै पेन्टागनले उक्त तथ्याङ्क प्रणालीमा ‘ओभरसिज अपरेसन्स’ नामक नयाँ श्रेणी थपेको छ । यसमा जुलाई ७ यताका अमेरिकी सैन्य हताहतीलाई छुट्टै समावेश गरिएको छ । सोही विवरणअनुसार चार सैनिकको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् ।
यद्यपि, नयाँ श्रेणीमा मृतक सैनिकको नाम मात्र सार्वजनिक गरिएको छ । उनीहरूको मृत्यु वा घाइते भएको समय, स्थान र कारणबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
इरानसँगको द्वन्द्वको नयाँ चरणमा चारै सैनिकको मृत्यु भएको पुष्टि भए पनि घाइते भएका सबै सैनिक इरानसँगको द्वन्द्वसँग सम्बन्धित हुन् वा होइनन् भन्नेबारे पेन्टागनले स्पष्ट पारेको छैन ।
अमेरिकी कानुनअनुसार कङ्ग्रेसको अनुमति बिना राष्ट्रपतिले सामान्यतया अमेरिकी सेनालाई ६० दिनभन्दा बढी समयसम्म शत्रुतापूर्ण सैन्य कारबाहीमा संलग्न गराउन पाउँदैनन् ।
सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले जुलाई १० मा कङ्ग्रेसलाई पठाएको पत्रमा जुलाई ७ मा स्ट्रेट अफ हर्मुज हुँदै गइरहेका तीनवटा व्यापारिक पानीजहाजमाथि इरानले गरेको आक्रमणले यसअघिको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको उल्लेख गरिएको थियो ।
यही आधारमा ह्वाइट हाउसले जुलाई ७ लाई इरानसँगको शत्रुतापूर्ण कारबाहीको नयाँ चरण सुरु भएको मितिका रूपमा परिभाषित गरेको जनाइएको छ ।