Butwal Today

बङ्गलादेशका राष्ट्रपति शाहावुद्दिनको राजीनामा

८ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्याका कारण शुक्रबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिको कार्यालयले यसको औपचारिक जानकारी सार्वजनिक गरेको हो ।

७६ वर्षीय शाहावुद्दिनले अप्रिल २०२३ देखि औपचारिक (सेरेमोनियल) राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएपछि उत्पन्न राजनीतिक अस्थिरताको सामना गर्नुपरेको थियो ।

राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिअनुसार शाहावुद्दिनले आफूलाई ‘अटोनोमिक न्युरोप्याथी’ नामक रोग लागेको पुष्टि भएको बताएका छन् । उनले स्वास्थ्य परीक्षणपछि उक्त रोग लागेको पत्ता लागेको र त्यसका कारण कहिलेकाहीँ केही समयका लागि चेतनाहीन हुने अवस्था आउने उल्लेख गरेका छन् ।

शाहावुद्दिनको राजीनामासँगै शेख हसिनाको योजनाबद्ध स्वदेश फिर्तीको समय नजिकिँदै गर्दा उच्च सरकारी पदमा उनका निकट सहयोगी कोही पनि नरहने अवस्था सिर्जना भएको छ ।

यसअघि शेख हसिनाको आवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । सन् २०२४ मा उनको सरकारविरुद्ध भएको विद्यार्थी आन्दोलनपछि पार्टीका धेरै नेता तथा कार्यकर्ता पक्राउ परेका छन् भने केही भूमिगत रहेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म बङ्गलादेशका सभामुखले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?