© 2026
जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनीतिक शक्तिबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा मंगलबार आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेस प्रदेश समितिका पदाधिकारी र सदस्यलाई शपथ गराउँदै दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र सङ्घीय व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती बढ्दै गएको भन्दै परिवर्तनका पक्षमा सङ्घर्ष गरेका राजनीतिक दलबिच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताए ।
उनले भने, “कठिन परिस्थितिको सामना गर्न हिजो १२ बुँदे सम्झौतादेखि संविधानसभा गठन र संविधान निर्माणसम्म सहकार्य गरेका राजनीतिक दलबिच फेरि पनि सहकार्य आवश्यक छ ।”
दाहालले वामपन्थी कम्युनिष्ट शक्तिसँगै नेपाली काङ्ग्रेसलगायत दलबिच पनि राष्ट्रिय मुद्दामा सहकार्य आवश्यक रहेको धारणा राखे ।
वामपन्थी कम्युनिष्ट घटकहरूबिच ध्रुवीकरण र एकताको पहल आफ्नो पार्टीको जिम्मेवारी बनेको उल्लेख गर्दै उनले नेकपा ९एमाले०सँग पनि सहकार्यका विषयमा प्रयास भइरहेको जानकारी दिए ।
मधेस प्रदेशमा पार्टीलाई बलियो बनाउन नसकिए पार्टी र मुलुक दुवैको भविष्य प्रभावित हुने उल्लेख गर्दै दाहालले आफ्नो पार्टीले मधेस प्रदेशलाई उच्च प्राथमिकतामा राखेको बताए ।
उनले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनबाट पार्टीका विभिन्न कमिटीमा ५० प्रतिशत युवा समेट्ने योजना रहेको पनि जानकारी दिए ।
विभिन्न वामपन्थी घटकबिच एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
आज साँझसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा मधेस प्रदेशका आठ वटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।