© 2026
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गर्दै व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मंगलबार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तर निकाय समन्वय आवश्यक पर्ने फाइल पाँच दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्न निर्देशन दिए ।
मन्त्री तिमिल्सिनाले दैनिक कार्यसम्पादन समीक्षा, नियमित अनुगमन र कार्यसम्पादन सम्झौताका आधारमा मूल्याङ्कन प्रणाली प्रभावकारी बनाउन निर्देशन दिँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरबाही गर्नेलाई कारबाही गर्ने व्यवस्था संस्थागत गरिनुपर्ने बताए ।
उनले सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटल मैत्री बनाउँदै कानुन निर्माण तथा बजेट कार्यान्वयनलाई नतिजासँग जोड्नुपर्नेमा जोड दिए ।
सरकारको शासकीय सुधारसम्बन्धी सय कार्यसूची कार्यान्वयनमा मन्त्रालयले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै उनले अब त्यसलाई निरन्तर सुधार र परिणामसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री तिमिल्सिनाले समीक्षा बैठक विगतको मूल्याङ्कनमा मात्र सीमित नभई सुधारको नयाँ आधार बन्नुपर्ने बताउँदै कर्मचारीले आफ्नो जिम्मेवारीबारे आत्म मूल्याङ्कन गर्दै समस्या समाधानका लागि समयमै नेतृत्वलाई जानकारी गराउनुपर्ने बताए ।
उनले प्रत्येक कर्मचारीले आफ्नो शाखाबाट दैनिक सम्पन्न भएका कामको जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै विधि र प्रक्रिया पालना गरी ऐन–कानुनले निर्धारण गरेका उद्देश्यअनुसार परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए ।
चालु आर्थिक वर्षको बजेट सुरुदेखि नै प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्णय प्रक्रिया र फाइल व्यवस्थापन प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले फाइल कहाँ पुगेको छ र किन रोकिएको छ भन्ने जानकारी दिने प्रणाली विकास गर्न पनि निर्देशन दिए ।
कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन दैनिक प्रतिवेदनमा आधारित मूल्याङ्कन प्रणाली लागू गर्न, प्रत्येक शाखाले बिहान कार्य योजना तयार गरी साँझ समीक्षा गर्ने अभ्यास सुरु गर्न तथा दैनिक, साप्ताहिक, पाक्षिक र मासिक समीक्षा बैठक नियमित सञ्चालन गर्न उनले निर्देशन दिए ।
मन्त्री तिमिल्सिनाले कार्यसम्पादन सम्झौताका आधारमा कर्मचारीको मूल्याङ्कन गर्नुपर्ने र मातहतका कर्मचारीलाई जबाफदेही बनाउन नसक्ने नेतृत्व पनि उत्तरदायी हुनुपर्ने प्रणाली विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
मन्त्रालय र मातहतका निकायमा हुने ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै उनले जिम्मेवारी पन्छाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । कानुन विपरीत काम गर्न दबाब आए त्यसको जानकारी सिधै आफूलाई गराउन आग्रह गर्दै उनले मन्त्रालयमा स्थापना गरिएको ‘फ्रन्ट डेस्क’ लाई प्रभावकारी बनाउन तथा सम्भव भएका सबै सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउन निर्देशन दिए ।
कानुन निर्माणलाई चालु आर्थिक वर्षको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले अर्थ र कानुन मन्त्रालयबाट सैद्धान्तिक स्वीकृतिपछि आमसञ्चार विधेयक अघि बढिसकेको जानकारी दिए ।
उनले मिडिया काउन्सिल विधेयकको छलफल तत्काल सुरु गर्न, कानुन शाखाले विभिन्न विधेयकको समय सीमा निर्धारण गरी साप्ताहिक प्रगति समीक्षा गर्न तथा चालु आर्थिक वर्षभित्र छ वटा विधेयक सङ्घीय संसद्मा पेस गर्ने लक्ष्य पूरा गर्न निर्देशन दिए ।
मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले गत आर्थिक वर्षमा पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै चालु आर्थिक वर्षमा लक्ष्यअनुसार प्रभावकारी रूपमा बजेट कार्यान्वयन गरी नतिजामुखी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले सूचना तथा प्रसारण विभाग र मुद्रण विभागको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) कार्य सम्पन्न भइसकेको तथा अन्य निकायमा पनि छिट्टै ओएनएम सम्पन्न गरिने जानकारी दिइन् ।
बैठकमा सहसचिव उदयबहादुर रानामगरले सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिँदै मन्त्रालयमा प्राप्त हुने फाइललाई अत्यावश्यक, जरुरी र सामान्य गरी वर्गीकरण गरेर तोकिएको समय सीमाभित्र टुङ्ग्याउने प्रणाली विकास गरिने बताए । उनले प्रत्येक फाइलको अवस्थाबारे जानकारी दिने ‘रिपोर्ट कार्ड’ प्रणाली लागू गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सहसचिव अनिलकुमार दत्तले मन्त्रालय र मातहतका वरिष्ठ व्यवस्थापन समूहको बैठक नियमित सञ्चालन गरी सबै कर्मचारीले जिम्मेवारी बोधका साथ कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।
बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को कार्य योजना, बजेट कार्यान्वयन, कानुन निर्माण, सेवा प्रवाह, कार्यसम्पादन सम्झौता, प्रशासनिक सुधार तथा मातहतका निकायको प्रभावकारिता अभिवृद्धिका विषयमा विस्तृत छलफल भएको थियो ।