काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा अब मुख्यसचिवमार्फत सम्बोधन गरिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा स्थानीय तहसँग सम्बन्धित गुनासालाई मुख्यसचिवमार्फत प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार स्थानीय तहमा सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती, ठेक्का–पट्टा तथा निर्माण कार्यमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिलगायतका गुनासा ‘हेलो सरकार’ पोर्टल तथा अन्य सुनुवाइ प्रणालीमार्फत प्राप्त भइरहेका छन् ।
यस्ता गुनासाको प्रभावकारी सुनुवाइ र आवश्यक सम्बोधनका लागि अब मुख्यसचिवमार्फत प्रक्रिया अघि बढाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।