© 2026
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सोमबार जारी समवेदना सन्देशमा राष्ट्रपति पौडेलले स्वर्गीय पाण्डेको जीवन स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनको पक्षमा समर्पित रहेको उल्लेख गरेका छन् ।
उनले नेपालमा लोकतन्त्रको स्थापना, पुनः स्थापना तथा विभिन्न राजनीतिक सङ्घर्ष र आन्दोलनमा नागरिक अगुवाका रूपमा डा। पाण्डेले निर्वाह गरेको नेतृत्वदायी भूमिका सधैँ स्मरणीय रहने बताएका छन् ।
राष्ट्रपति पौडेलले २०३६ सालको जनमत सङ्ग्रहअघि सरकारी सचिव पदबाट राजीनामा दिएर डा। पाण्डे नागरिक आन्दोलनमा सक्रिय भएको स्मरण गर्दै २०४६ सालको जनआन्दोलनदेखि २०६२र६३ को लोकतान्त्रिक आन्दोलनसम्म उनले खेलेको नेतृत्वदायी भूमिका आफ्नो मानसपटलमा अझै ताजा रहेको उल्लेख गरेका छन् ।
समवेदना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, “२०३६ साल यताको करिब साढे चार दशकमा उहाँले निर्वाह गर्नुभएको भूमिका र योगदानले उहाँलाई राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने मानक व्यक्तित्वका रूपमा भावी पुस्ताले सधैँ स्मरण गर्नेछन् भन्ने मलाई विश्वास छ । उहाँको निष्ठा, आचरण र नैतिक जीवनले नेपाली समाजलाई सधैँ आलोकित गरिरहनेछ ।”
राष्ट्रपति पौडेलले डा। पाण्डेको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको तथा मुलुकले सत्य र लोकतन्त्रको पक्षमा अडिग रहने एक निर्भीक नागरिक अगुवा गुमाएको बताएका छन् ।
राष्ट्रपतिको समवेदना सन्देश उनका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले काठमाडौँको विशालनगरस्थित पाण्डेको निवासमा पुगेर परिवारलाई हस्तान्तरण गरेका थिए ।
क्यान्सरबाट पीडित डा। देवेन्द्रराज पाण्डेको साउन १ गते आफ्नै निवास विशालनगरमा निधन भएको थियो ।