काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
छलफलपछि प्रधानमन्त्री शाहले विभागीय मन्त्रीलाई तत्काल ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन गर्न निर्देशन दिएका छन् ।
तयारी पोसाक व्यवसायीले उक्त काउन्सिल गठन भएपछि स्वदेशमा उपलब्ध कच्चापदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवर्द्धन तथा आयात व्यवस्थापनमा सहजता आउने अपेक्षा व्यक्त गरेका छन् ।
उद्योगी तथा व्यवसायीको मागअनुसार प्रधानमन्त्रीले रुग्ण उद्योग तत्काल सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
त्यसैगरी, निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने प्रयासका क्रममा नेपाली तयारी पोसाक अमेरिकी बजारमा निर्यात गर्दा ‘टेस्टिङ सर्टिफिकेसन’को अभावले देखिएको समस्या समाधान गर्न तथा आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहले ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ को अवधारणा कार्यान्वयनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य हासिल गर्न तयारी पोसाक उद्योगको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले उद्योगले भोगिरहेका समस्याको समाधानका लागि सरकार सक्रिय रूपमा लागिपर्ने बताए ।
छलफलमा तयारी पोसाक उद्योग सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए ।