© 2026
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन ९एफएओ० की निर्देशक हुआ याङले सोमबार शिष्टाचार भेटवार्ता गरिन् ।
मन्त्रालयमा भएको भेटमा नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणालीको विकास तथा दक्षिण–दक्षिण र त्रिपक्षीय सहकार्य विस्तारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि एफएओसँगको सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताइन् ।
त्यस अवसरमा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुकूल कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उपजको निर्यात प्रवर्द्धन तथा भौगोलिक सङ्केत ९जीआई० सम्बन्धी कानुनी र संस्थागत व्यवस्था सुदृढ बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
दुवै पक्षले दिगो, उत्थानशील तथा समावेशी कृषि तथा खाद्य प्रणाली विकासका लागि साझेदारीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्देशक याङले नेपाललाई प्राथमिकतामा राखी सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाउँदै आगामी कृषि विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम तथा एफएओ मुख्यालयमा आयोजना हुने कार्यक्रममा नेपालको सहभागिताका लागि निमन्त्रणा दिइन् ।