Butwal Today

खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

४ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र चीन सरकारको साझेदारीमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार २४ महिनासम्म सञ्चालन हुने उक्त परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि प्रवर्द्धन, ग्रामीण जीविकोपार्जनमा सुधार तथा खाद्य एवं पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखेको छ ।
चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ–साउथ कोअपरेसन फन्डको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु–स्मार्ट कृषि, पोषण सुधार, डिजिटल नवप्रवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।
चिनियाँ राजदूत माओमिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकासका लक्ष्य प्राप्तिमा चीनको निरन्तर सहयोग रहने बताए । एफएओकी नेपाल निर्देशक हुआ याङले यो परियोजना एसिया तथा अन्य क्षेत्रका लागि दक्षिण–दक्षिण सहकार्यको सफल नमुना बन्ने विश्वास व्यक्त गरिन् ।
काभ्रेपलान्चोक र इलाममा कार्यान्वयन हुने परियोजनाअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसमसम्बन्धी सूचना, वित्तीय सेवा, कृषि बिमा तथा बजारसम्बन्धी जानकारी उपलब्ध गराइनेछ ।
परियोजनाले महिला, युवा तथा सीमान्तकृत समुदायको सहभागिता बढाउने, स्थानीय संस्थाको क्षमता अभिवृद्धि गर्ने र जलवायु अनुकूलन क्षमता सुदृढ पार्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।
सहकार्यमार्फत अन्तर्राष्ट्रिय प्राविधिक ज्ञान र अनुभवको आदानप्रदान गर्दै स्थानीय नेतृत्वमा कृषि तथा खाद्य प्रणालीको दीर्घकालीन रूपान्तरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा एफएओका नेपाल प्रतिनिधि केन शिमिजुसहित उच्च अधिकारी, सङ्घीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, किसान सङ्गठन तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?