© 2026
काठमाडौं । नेपाल राष्ट्र बैंकले निश्चित वर्गका नागरिकलाई राष्ट्रिय परिचयपत्रविनै बैंक खाता खोल्न सकिने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असहाय नागरिक तथा १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार अन्य सबै नेपाली नागरिकका हकमा भने नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य रहनेछ । यसअघि नै २०८१ माघ १ गतेदेखि विद्युतीय अभिलेखमा रहेको विवरणका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको थियो ।
त्यसैगरी, २०८३ असोज मसान्तभित्र बैंक तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको घोषणा गराउने व्यवस्था गर्नुपर्नेछ ।
राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकका हकमा पनि २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर प्राप्त गरी ग्राहकको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, राष्ट्रिय परिचयपत्र नलिएका नेपाली नागरिकका हकमा ग्राहक पहिचान अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र लिनुपर्ने जानकारी प्रत्येक ६ महिनामा मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ ।
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइनमार्फत बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा पनि खाता खोल्न सक्नेछन् ।
यस्तो खाता खोल्ने नागरिक नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण प्राप्त गरी ग्राहकको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।