© 2026
काठमान्डौँ ।
कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्री सुरेश अधिकारीका अनुसार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा चारै मन्त्रीले आफ्नो राजीनामा पत्र मुख्यमन्त्री कँडेललाई बुझाएका हुन् ।
राजीनामापछि मन्त्रीहरूले एमालेसँग भएको आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिएको बताएका छन् ।
मन्त्री अधिकारीले भने, “सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। तर एमालेले उक्त सहमतिप्रति इमान्दारिता नदेखाएकाले हामीले सामूहिक रूपमा राजीनामा दिएका हौं ।”
मुख्यमन्त्री यामलाल कँडेल २०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसबेला उनलाई तत्कालीन माओवादी केन्द्रको समर्थन थियो । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि कांग्रेस–एमालेबीच बनेको नयाँ गठबन्धनअनुसार २०८१ साउनमा कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो ।
आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह हाल स्वास्थ्य उपचारका लागि बैंककमा छन् । बैंकक जानुअघि नै उनले आफ्नो राजीनामा पत्र कांग्रेस संसदीय दलका नेता जीवन शाहीलाई बुझाएका थिए ।