© 2026
अर्घाखाँची । सन्धिखर्क नगरपालिका–५ का वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्य ऋषव अधिकारीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सन्धिखर्क नगरपालिकाले एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।
वडा अध्यक्ष अधिकारी केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए। उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल, महाराजगन्जमा उपचाररत रहेका उनी स्वास्थ्यमा थप जटिलता आएपछि मंगलबार बिहान ६ बजे ६१ वर्षको उमेरमा निधन भएको हो ।
नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले असार ३१ गते आज एक दिन नगरपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा मातहतका सम्पूर्ण निकायमा सार्वजनिक शोक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।