Butwal Today

नगर प्रहरीको मनोबल कमजोर नहोस् : मन्त्री लम्साल

३० असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काठमाडौँ महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन् ।

मुगुका गणेश नेपालीको आत्मदाह घटनापछि सडकमा नगर प्रहरीको उपस्थिति कम देखिएको सन्दर्भमा उनले संसद् बैठकमा यस्तो आग्रह गरेका हुन् ।

‘काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरू, मनोबल नघटाउनुहोस्,’ मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘तपाईँहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन् । धेरै नागरिकको ज्यान जोगिएको छ ।’

नगर प्रहरीको मनोबल कमजोर हुँदा त्यसको असर नागरिकको जीवनमा समेत परेको हुन सक्ने उनको भनाइ थियो । ‘तपाईँहरूको मनोबल गिरेको कारण अहिले पनि कतिपयले ज्यान गुमाएका हुन सक्छन् । तर, यस विषयमा कसैले बोलिरहेको छैन,’ उनले भने ।

मन्त्री लम्सालले सरकार नगर प्रहरीको साथमा रहेको स्पष्ट पार्दै आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न आग्रह गरे । ‘आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुहोस् । हामी तपाईँहरूको पक्षमा छौँ । साथमा छौँ,’ उनले भने ।

परिवर्तन आउन केही समय लाग्ने उल्लेख गर्दै उनले सबैलाई धैर्य र आशावादी बन्न आग्रह गरे । ‘परिवर्तन हुन केही समय लाग्छ । आशावादी रहनुहोस्,’ उनले भने, ‘हामी फरक ढङ्गले काम गरिरहेका छौँ । सबै मिलेर देश बनाऔँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?