© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहलाई जनताको समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्दै साझा राष्ट्रिय मुद्दामा कांग्रेस सरकारको साथमा रहेको बताएका छन् ।
भिडिओ सन्देशमार्फत उनले विश्वकप फुटबल चर्चामा रहे पनि देशभित्रका गम्भीर मानवीय समस्यातर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
उनले भने, “विश्वकप फुटबल सेमिफाइनल चरणमा पुगेको छ। बिहानसम्म मिलेसम्म हामीमध्ये धेरैले हेर्दै पनि छौँ । तर समाचारमा विश्वकप फुटबल मात्रै छैन । विकट गाउँबाट आएका गणेश नेपालीले काठमाडौंमा आत्मदाह गर्नुभयो, उहाँको शव भर्खर उठाउन लागिँदैछ । कीर्तिपुरको होल्डिङ सेन्टरमा साना नानीबाबु भोकले तड्पिरहेका छन् भने वृद्धवृद्धा रोगले पीडित छन् ।”
शर्माले अहिले सरकारलाई आरोप लगाएर घेर्नेभन्दा पनि जनतामा आशा जगाउने काममा सहकार्य गर्न कांग्रेस तयार रहेको बताए ।
उनले भने, “हिजो हाम्रो पालामा प्रेम आचार्यले आत्मदाह गर्नुभयो । आज फेरि गणेश नेपालीले आत्मदाह गर्नुभयो । नेतृत्वप्रतिको विश्वास किन क्रमशः खण्डित हुँदै गएको छ भन्ने मूल प्रश्न हो । हामी यसलाई राजनीतिक कोणबाट हेर्न चाहँदैनौँ । समाजबाट आशा हराउँदै जानु अत्यन्त गम्भीर विषय हो र यसप्रति सबै संवेदनशील बन्नुपर्छ ।”
उनले जनताको असह्य पीडाका बेला प्रभावकारी सरकारको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहलाई आफू प्रधानमन्त्री बन्नुअघि देखाएको संवेदनशीलता सम्झिन आग्रह गरे ।
“प्रधानमन्त्री बन्नुअघि तपाईँको जुन कोमल हृदय थियो, जसले गरिबका पक्षमा आवाज उठाउने प्रयास गरेको थियो, आज प्रधानमन्त्रीका रूपमा पनि त्यही संवेदनशीलता देखिनुपर्छ । गरिबका पक्षमा बोलिदिने कोही छ भन्ने विश्वास दिलाउनुपर्छ । जनतामा आशा र भरोसा जगाउनुपर्छ,” उनले भने ।
शर्माले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा एक छाक खाना समेत नपाई भोकै बस्नुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग आग्रह गरे ।
उनले भने, “हामी सरकारको साथमा उभिन चाहन्छौँ । सरकारलाई सहयोग गर्न तयार छौँ। विषयको गम्भीरता बुझेर यसको मानवीय पक्षलाई सम्बोधन गर्नुस् । देश तपाईँको साथमा उभिनेछ, हामी पनि साथमा हुनेछौँ । यो पक्ष–विपक्षको वा सत्ता–प्रतिपक्षको प्रश्न होइन, समाजमा आशा जगाउने प्रश्न हो ।”