Butwal Today

दुर्लभ गिद्धको सफल प्रजनन

२८ असार २०८३, आइतबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँची जिल्ला विश्वमै दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित वासस्थानका रूपमा स्थापित हुँदै गएको छ ।

यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गर्दै ३३ वटा बचेरा सुरक्षित रूपमा उडाउन सफल भएका छन् ।

यो उपलब्धिलाई नेपालमा गिद्ध संरक्षण अभियानकै एक ऐतिहासिक सफलता मानिएको छ। जिल्लाका विभिन्न वन क्षेत्र, भीर–पाखा तथा प्राकृतिक आवासमा रहेका गुँडहरूबाट यस वर्ष डंगर गिद्ध, हिमाली गिद्ध, हाडफोर गिद्ध तथा सेतो गिद्ध गरी चार प्रजातिका गिद्धले उत्साहजनक प्रजनन गरेका हुन् । विशेष गरी तीन प्रजातिका ३३ वटा बचेरा सफलतापूर्वक गुँड छाडेर उड्न सफल भइसकेका छन् भने सेतो गिद्धका बचेरा अझै हुर्किने चरणमा रहेका छन् ।

गिद्ध विज्ञ कृष्ण भुसालका अनुसार अर्घाखाँचीका वन क्षेत्रहरू अहिले दुर्लभ गिद्धहरूको सुरक्षित प्रजननस्थलका रूपमा विकसित हुँदै गएका छन् । संरक्षणप्रति स्थानीय समुदाय, वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय तथा संरक्षणकर्मीहरूको सक्रियताले यस्तो सकारात्मक परिणाम सम्भव भएको उनको भनाइ छ ।

यस वर्ष छत्रदेव गाउँपालिकाका विभिन्न वन क्षेत्रमा विश्वमै अतिसंकटापन्न डंगर गिद्धले सल्लाका अग्ला रुखमा २३ वटा गुँड बनाएको थियो। तीमध्ये १५ वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन् ।

डंगर गिद्ध विश्वमै सबैभन्दा जोखिममा रहेका गिद्धमध्ये एक हो। नेपालमा यसको संख्या करिब दुई हजारको हाराहारीमा रहेको अनुमान छ। दक्षिण एसियामा एक समय करोडौँको संख्यामा पाइने यो प्रजाति अहिले अत्यन्तै सीमित संख्यामा मात्रै बाँकी रहेको छ ।

यस्तो अवस्थामा अर्घाखाँचीमा भएको सफल प्रजनन विश्वव्यापी संरक्षण अभियानका लागि समेत आशाको किरण बनेको संरक्षणकर्मीहरू बताउँछन्।

हिमाली र हाडफोर गिद्धको पनि उत्साहजनक प्रजनन
मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा गुँड बनाएको थियो। तीमध्ये १६ वटा गुँडबाट बचेरा सुरक्षित रूपमा उड्न सफल भएका छन् । त्यसैगरी हाडफोर गिद्धले तीन वटा गुँड बनाएर प्रजनन गरेकोमा दुई वटा गुँडका बचेरा सफलतापूर्वक उडेका छन् । यी तथ्यांकले अर्घाखाँचीका प्राकृतिक वन क्षेत्रहरू अझै पनि दुर्लभ पक्षीहरूको सुरक्षित आवासका रूपमा रहेको पुष्टि गरेको संरक्षणकर्मीहरूको भनाइ छ ।

विश्वमै सङ्कटापन्न मानिने अर्को प्रजाति सेतो गिद्धले पनि यस वर्ष सन्धिखर्क, भूमिकास्थान, मालारानी र शितगंगा नगरपालिकाका विभिन्न छ स्थानमा गुँड बनाएर प्रजनन गरिरहेको छ ।

अन्य गिद्धहरूको तुलनामा सेतो गिद्धको प्रजनन चक्र केही ढिलो हुने भएकाले हाल बचेरा हुर्काउने चरणमा रहेको गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए । उनका अनुसार आगामी केही साताभित्र ती बचेरा पनि सुरक्षित रूपमा उड्ने अपेक्षा गरिएको छ ।

वर्षमा एउटै अण्डा, त्यसैले सफल प्रजनन ठूलो उपलब्धि
गिद्धको प्रजनन प्रक्रिया निकै कठिन र लामो हुन्छ । अधिकांश गिद्धले वर्षमा केवल एउटा मात्र अण्डा पार्छन् । असोज–कार्तिकदेखि सुरु हुने प्रजनन प्रक्रिया वैशाख–जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काएर उडाउन करिब आठ–नौ महिना लाग्छ ।

यही कारणले एकै वर्ष ३३ वटा बचेरा सफलतापूर्वक उड्न सफल हुनु संरक्षणको दृष्टिले अत्यन्त महत्वपूर्ण उपलब्धि भएको भुसाल बताउँछन् । उनका अनुसार एउटा गुँड असफल हुँदा अर्को वर्षसम्म पर्खिनुपर्ने भएकाले सफल प्रजनन दर बढ्नु निकै सकारात्मक संकेत हो ।

गिद्धलाई प्रकृतिको सरसफाइकर्मीका रूपमा चिनिन्छ। यसले मरेका जनावरको सिनो खाएर वातावरणलाई स्वच्छ राख्ने महत्वपूर्ण भूमिका निर्वाह गर्छ । गिद्धको पेटमा रहेको अत्यधिक अम्लीय रसले घातक जीवाणु तथा रोगका कीटाणुलाई समेत नष्ट गर्ने क्षमता राख्छ ।

यदि गिद्धको संख्या घट्दै जाने हो भने मरेका जनावर लामो समयसम्म खुला स्थानमा रहने, त्यसबाट दुर्गन्ध फैलिने, कुकुर तथा अन्य जनावरको संख्या बढ्ने र रेबिज, हैजा लगायत विभिन्न संक्रामक रोग फैलिने जोखिम बढ्ने विज्ञहरूको भनाइ छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काका अनुसार जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन तथा सार्वजनिक स्वास्थ्यका लागि गिद्ध अपरिहार्य पक्षी हुन् । त्यसैले यसको संरक्षणलाई उच्च प्राथमिकता दिइएको उनले बताए ।

एक समय दक्षिण एसियामा करोडौँको संख्यामा रहेका गिद्धहरू केही दशकयता तीव्र रूपमा घटेका थिए । यसको प्रमुख कारण पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनाक नामक औषधि मानिन्छ ।

डाइक्लोफेनाक प्रयोग गरिएका पशु मरेपछि तिनको सिनो खाँदा गिद्धको मिर्गौलाले काम गर्न छाड्ने र ठूलो संख्यामा गिद्ध मर्ने गरेको अनुसन्धानले देखाएको थियो । त्यसपछि नेपाल सरकारले यस औषधिको उत्पादन, आयात, बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाउँदै सुरक्षित विकल्पको प्रयोगलाई प्रोत्साहन दिएको गिद्ध विज्ञ कृष्ण भुसालको भनाइ छ ।

यससँगै गिद्धलाई सुरक्षित आहार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ’गिद्ध रेष्टुरेन्ट’ सञ्चालन गरिएका छन् । यस्ता प्रयासले पनि गिद्ध संरक्षणमा उल्लेखनीय योगदान पु¥याएको संरक्षणकर्मीहरू बताउँछन् । अर्घाखाँचीमा गिद्ध संरक्षण अभियान सरकारी निकाय मात्र नभई स्थानीय समुदाय, सामुदायिक वन, संरक्षणकर्मी तथा विभिन्न संघसंस्थाको साझेदारीमा अघि बढिरहेको छ ।

गुँडको नियमित अनुगमन, वन संरक्षण, जनचेतना अभिवृद्धि, विषादी तथा हानिकारक औषधिको प्रयोग नियन्त्रण, प्राकृतिक बासस्थान जोगाउने अभियानले संरक्षणलाई थप प्रभावकारी बनाएको छ । स्थानीय बासिन्दाले पनि गिद्धको महत्व बुझ्दै गुँड भएका क्षेत्रमा अनावश्यक मानवीय गतिविधि कम गर्न थालेका छन्। यसले गिद्धलाई सुरक्षित वातावरण उपलब्ध गराएको छ।

संरक्षण अभियानका लागि प्रेरणादायी उदाहरण
विश्वमै लोपोन्मुख अवस्थामा रहेका चार प्रजातिका गिद्धले अर्घाखाँचीमा सफलतापूर्वक प्रजनन गर्नु र ३३ वटा बचेरा सुरक्षित रूपमा उड्न सफल हुनु केवल जिल्लाको मात्र उपलब्धि होइन, नेपालकै संरक्षण अभियानका लागि प्रेरणादायी उदाहरण बनेको छ ।

विशेष गरी डंगर गिद्धजस्तो अतिसंकटापन्न प्रजातिको सफल प्रजननले अन्तर्राष्ट्रिय संरक्षण समुदायको समेत ध्यान अर्घाखाँचीतर्फ आकर्षित गरेको छ ।

संरक्षणकर्मीहरूका अनुसार यही अभियानलाई निरन्तरता दिन सकिए अर्घाखाँची भविष्यमा विश्वकै दुर्लभ गिद्धहरूको प्रमुख सुरक्षित आश्रयस्थलका रूपमा अझ सशक्त रूपमा स्थापित हुनेछ। यसले जैविक विविधता संरक्षणसँगै पर्यावरणीय सन्तुलन कायम गर्न र प्रकृतिको अमूल्य सम्पदालाई भावी पुस्ताका लागि सुरक्षित राख्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?