Butwal Today

गोर्खा किचनलाई प्रशासनको स्पष्टीकरण

२६ असार २०८३, शुक्रबार
अ+
अ-

भैरहवा ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारअगाडि सञ्चालनमा रहेको गोर्खा किचनमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर लापरबाही भेटिएपछि संयुक्त बजार अनुगमन टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं संयुक्त बजार अनुगमन समितिका संयोजक मेघनाथ पाध्याको नेतृत्वमा बिहीबार गरिएको सघन अनुगमनका क्रममा होटलको भान्सा अत्यन्तै फोहोर अवस्थामा रहेको, खाद्य सामग्रीको व्यवस्थापन मापदण्डअनुसार नभएको तथा घ्युको सट्टा बेकरी सर्टेनिङ प्रयोग गरेर खाना पकाउने गरेको भेटिएको हो ।

गोर्खा किचनको भान्छा कोठा फोहोर रहेको, एउटै फ्रिजमा शाकाहारी र मांसाहारी खाद्य बस्तु राखिएको भेटिएको संयुक्त बजार अनुगमन समितिका संयोजक मेघनाथ पाध्याले बताए । उनले यी दुवैलाई अलय अलग स्थानमा राख्नुपर्ने स्पष्ट ब्यवस्था भएको बताए ।

यस बाहेक भान्छाको भुईँ अत्यन्तै फोहोर भेटिएको र त्यसलाई तत्काल निर्माण गर्न निर्देशन गरिएको पाध्याले जानकारी दिए । “अनुगमनको क्रममा गोर्खा किचनले घ्युको सट्टा बेकरी सर्टेनिङ प्रयोग गरेर खाना पकाउने गरिएको भेटिएको छ, जसलाई हामीले त्यही नष्ट गरेका छौं ।” पाध्याले भने “धेरै कैफियत देखिएपछि गोर्खा किचनको सञ्चालकलाई शुक्रबार कार्यालयमै बोलाएका छौं, थप कारबाही उतै हुन्छ ।”

अनुगमनका क्रममा होटल सञ्चालकले ग्राहकलाई भातमा हाल्ने तथा दाललगायतका परिकार झान्न प्रयोग गरिने पदार्थ घ्यु नभई बेकरी सर्टेनिङ नै रहेको स्वीकार गरेको टोलीका सदस्यहरूले बताएका छन् ।

सामान्यतया घ्यु प्रयोग भएको विश्वासमा उपभोक्तालाई परोसिने खानामा फरक प्रकृतिको बोसोयुक्त पदार्थ प्रयोग गरिएको पाइएपछि टोलीले यसलाई उपभोक्ता अधिकार र खाद्य सुरक्षासँग जोडिएको गम्भीर विषयका रूपमा लिएको जनाएको छ ।

अनुगमन टोलीका सदस्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलवाईले बेकरी सर्टेनिङको प्रयोग बिस्कुट, केक, पेस्ट्री र अन्य बेकरी उत्पादनहरू लाई मस्कोलो र नरम बनाउन अत्यधिक गरिने बताए ।

यो यस्तो खाना पकाउने होटलमा भन्दा ठूला बेकरी उद्योगमा राख्ने गरेको बताउदै उनले यसलाई १० किलोको परिमाण भन्दा कममा बिक्री बितरण गर्न निषेध रहेको जानकारी दिए । धेरैजसो व्यावसायिक बेकरी सर्टेनिङ बनाउँदा तेललाई आंशिक रूपमा हाइड्रोजेनेट गरिन्छ । जसले गर्दा यसमा प्रचुर मात्रामा ट्रान्स फ्याट निर्माण हुन्छ । ट्रान्स फ्याटलाई मानव स्वास्थ्यका लागि सबैभन्दा खतरनाक फ्याट मानिन्छ ।

बजार अनुगमन समितिका संयोजक मेघनाथ पाध्याले बजार अनुगमनको उद्देश्य व्यवसाय बन्द गराउनु नभई व्यवसायलाई कानुनी मापदण्डभित्र सञ्चालन गराउँदै उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउनु रहेको बताए । “खाना खाने स्थान आकर्षक बनाउनु मात्रै पर्याप्त हुँदैन, उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध हुने भान्सा सबैभन्दा सफा र मापदण्डअनुसार हुनुपर्छ,” उनले भने ।

अनुगमनका क्रममा अधिकांश होटलमा डाइनिङ हल सफा, आकर्षक र वातानुकूलित बनाए पनि भान्सा भने उपेक्षित अवस्थामा रहेको पाइएको टोलीले जनाएको छ । बाहिरी सजावट राम्रो देखिए पनि खाना तयार हुने स्थानमा सरसफाइ र खाद्य सुरक्षा मापदण्ड पालना नगरेको अवस्था चिन्ताजनक रहेको टोलीको निष्कर्ष छ ।

यही क्रममा टोलीले भैरहवाको पवन मिष्ठान्न भण्डार, मझेरी भान्सा घर, जगदम्बा फुड्स प्रालीको पनि अनुगमन गरेको थियो । केही होटलमा अव्यवस्थित भण्डारण तथा सरसफाइसम्बन्धी कमजोरी भेटिएपछि सुधारका लागि १५ दिनदेखि डेढ महिनासम्मको समय सीमा दिइएको छ भने केही व्यवसायीलाई सचेत गराइएको छ ।

संयुक्त बजार अनुगमन समितिले खाद्य व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील बन्दै खाद्य स्वच्छता, सरसफाइ र गुणस्तरसम्बन्धी कानुनी मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । समितिले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णु प्रसाल ज्ञवाली, नायब सुब्बा तारा प्रसाद पोख्रेल वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अनुप हलवाई, खाद्य अनुसन्धान अधिकृत ज्योत्सना शर्मा अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय भैरहवाको प्रमुख धर्मा अर्याल बेल्वासे, लेखापाल श्रीराम घिमिरे, वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मान बहादुर बुढा क्षेत्री, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका प्रतिनिधि धर्मवीर शर्मा, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?