Butwal Today

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा भएको भेटमा सभामुख अर्यालले सरकारले आफ्नो पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे ।

उनले नेपाल–भारत सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता तथा सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायत विभिन्न द्विपक्षीय संयन्त्रमार्फत दुई देशबीचको सम्बन्ध निरन्तर सुदृढ बन्दै गएको बताए ।

उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको उल्लेख गर्दै उनले नागरिक उड्डयन, रेल तथा बस सेवामार्फत कनेक्टिभिटी विस्तार हुँदा द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे । साथै, भविष्यमा थप हवाई उडान, रेल तथा बस रुट विस्तार हुने अपेक्षा पनि व्यक्त गरे ।

सभामुख अर्यालले भारतको लोकसभाका सभामुख ओम विरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिइसकेको जानकारी दिँदै दुवै पक्षका लागि उपयुक्त समयमा उनलाई नेपालमा स्वागत गर्न तत्पर रहेको बताए ।

भेटका क्रममा राजदूत श्रीवास्तवले लोकसभाका सभामुख ओम विरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी दिए । साथै, उनले नेपालका सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिए ।

राजदूत श्रीवास्तवले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?