© 2026
सिद्धार्थनगर । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले तोकेको वार्षिक लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा कार्यालयले वार्षिक लक्ष्यको सीमालाई पार गर्दै उल्लेख्य प्रगति हासिल गरेको हो ।
कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार चालु आर्थिक वर्षका लागि कार्यालयलाई कुल १६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । तर, असार २१ गते साँझसम्मको तथ्याङ्क हेर्दा लक्ष्यभन्दा ५.३ प्रतिशत बढी अर्थात् १७ अर्ब ८३ करोड रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ । यो निर्धारित लक्ष्यभन्दा ९० करोड रुपैयाँ बढी हो ।
पोखरेलका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्ष आन्तरिक राजस्व कार्यालय, भैरहवाले भैरहवा क्षेत्रको राजस्व सङ्कलनमा निकै ठुलो फड्को मारेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष २६.६ प्रतिशतले बढी राजस्व उठेको उनले बताए ।
रकमका आधारमा गत वर्षभन्दा यस वर्ष ३७४ करोड (३ अर्ब ७४ करोड) रुपैयाँ बढी सङ्कलन भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिए ।
कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि जेठसम्मका हरेक महिनामा तोकिएको मासिक लक्ष्य निरन्तर हासिल हुँदै आएको थियो । असार महिनाका लागि मात्रै २ अर्ब ९ करोड (२०९ करोड) रुपैयाँको लक्ष्य रहेकोमा असार २१ गते साँझसम्म ६९ करोड रुपैयाँ सङ्कलन भइसकेको छ र महिनाको अन्त्यसम्म यो क्रम अझै बढ्ने अनुमान गरिएको छ ।
मुलुकको समग्र अर्थतन्त्रमा सुस्तताको चर्चा चलिरहेका बेला प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले यो सफलताका पछाडि बहु आयामिक प्रयास र सुधारहरू रहेको प्रस्ट्याए । उनका अनुसार देशको समग्र अर्थतन्त्रका परिसूचकहरूमा देखिएको सकारात्मक सुधार र आर्थिक गतिविधिमा भएको वृद्धिले राजस्व सङ्कलनमा प्रत्यक्ष रूपमा बल पु¥याएको हो ।
यसका साथै कार्यालयले बजारमा कर छली रोक्नका लागि नियमित, प्रभावकारी र क्षेत्रगत (सेक्टर वाइज) बजार अनुगमनलाई तीव्रता दिएको थियो । लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुली प्रक्रियालाई अगाडि बढाइनुका साथै नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बीजक जारी गर्ने र त्यस्ता बीजक खरिद गर्नेहरूमाथि कडा अनुसन्धान गरी कर निर्धारण गरिएकाले पनि राजस्व सङ्कलनमा उल्लेख्य योगदान पुगेको हो ।
कार्यालयले करदाताहरूलाई करको दायरामा ल्याउन र सचेत गराउन क्षेत्रगत रूपमा परिणाममुखी करदाता शिक्षा सञ्चालन गरेको थियो जसका कारण करदाताहरूमा उत्साहपूर्वक कर परिपालना गर्ने बानीको विकास भएको कार्यालयले जनाएको छ ।
त्यस्तै, सरकारले बजेटमार्फत व्यवस्था गरेका विभिन्न छुट र सुविधाहरूको प्रभावकारी कार्यान्वयन र कार्यालयले प्रवाह गरेको करदातामैत्री सेवाका कारण पनि करदाताहरू कर तिर्न प्रोत्साहित भएका हुन् ।
आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्र निकै ठुलो र आर्थिक हिसाबले चलायमान क्षेत्रमा फैलिएको छ, जहाँ हाल ८२ हजारभन्दा बढी व्यावसायिक करदाताहरू दर्ता रहेका छन् ।
यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत रुपन्देही जिल्लाका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नम्बर १ देखि ४ तथा ११ र १२ नम्बर वडा पर्दछन् । त्यसै गरी लुम्बिनी सांस्कृतिक नगरपालिका सहित गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई, र सियारी गाउँपालिका यसै कार्यालय अन्तर्गत पर्दछन् ।
रुपन्देहीकै शुद्धोदन गाउँपालिकाको वडा नम्बर ३ र सिङ्गो नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला पनि यसै कार्यालयको कार्यक्षेत्र भित्र पर्दछ ।
कार्यालयले आगामी दिनमा करदातामैत्री सेवा प्रवाहलाई अझ बढी प्रविधिमैत्री र सहज बनाउँदै लैजाने र करको दायरालाई अझै फराकिलो बनाउने जनाएको छ ।