© 2026
काठमाडौँ । नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने भएको छ । आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै विद्युतीय मतदान मेसिन (ईभीएम) लाई प्राथमिकता दिने निर्णय गरेको हो ।
समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन परम्परागत मतपत्रको सट्टा प्रविधिको अधिकतम प्रयोग गर्ने निर्णय गरेको हो ।
निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउने उद्देश्यसहित ईभीएम वा अन्य डिजिटल प्रविधि प्रयोग गर्ने तयारी गरिएको समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।
निर्वाचन समितिले लैङ्गिक समावेशितालाई प्राथमिकता दिँदै काठमाडौँ उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा महिला कानुन व्यवसायीलाई निर्वाचन अधिकृतका रूपमा प्राथमिकताका साथ खटाउने निर्णय पनि गरेको छ ।
उपत्यकाका १५ वटै निर्वाचन क्षेत्र तथा महानगरपालिका र नगरपालिकामा महिला निर्वाचन अधिकृतले जिम्मेवारी सम्हाल्नेछन् ।
समितिका अनुसार निर्वाचन प्रक्रिया सुरु भएसँगै निर्वाचन आचारसंहिता पूर्ण रूपमा लागू हुनेछ । विधानमा उल्लेख गरिएका बाहेकका सबै अवस्थामा आचारसंहिताको पालना गर्न केन्द्रीय कार्यसमितिसहित पार्टीका सबै तह र निकायलाई आग्रह गरिएको छ ।
निर्वाचन कार्यलाई व्यवस्थित बनाउन कानुन व्यवसायी तथा अन्य पेसागत क्षेत्रका व्यक्तिलाई स्वयंसेवकका रूपमा सहयोग गर्न पनि समितिले आह्वान गरेको छ । इच्छुक व्यक्तिहरूको रोस्टर तयार गरी अभिमुखीकरणपछि मात्र निर्वाचन अधिकृतका रूपमा खटाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघिका निर्वाचन अधिकृत तथा सरोकारवालाबाट प्राप्त अनुभव र सुझावलाई समेत समेटेर १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिइने समितिले जनाएको छ ।