Butwal Today

कोसी प्रदेशसभा: विनियोजन विधेयकमाथिको छलफल सकियो

२१ असार २०८३, आइतबार
अ+
अ-

विराटनगर ।  कोसी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३र८४ को सेवा र कार्यका लागि कोसी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सकिएको छ ।

यही असार १९ गतेदेखि सुरु भएको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको समूहीकृत छलफल आज सकिएको हो ।

छलफलमा पहिलो दिन प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, सपना दर्जी र खिनु लङ्वा लिम्बूले, दोस्रो दिन रामबहादुर मगर, राधाकृष्ण खनाल, गीता तिमल्सेना, राजन किराँती, गणेश उप्रेती र विनोद राईले तथा आज गोम्बू शेर्पा, नरिन राई, छविलाल चुडाल, लीलबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, विद्या चाम्लिङ राई, सिर्जना राई, एकराज कार्की, रेवतीरमण भण्डरी, गोविन्द गिरी, सम्झाना तामाङ साम्सुहाङ र रामदेव यादवले प्रस्तुत विषयमा आ-आफ्नो धारणा राखे ।

आजको बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोसी प्रदेशसभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनमा चुनौती देखिने किसिमको रहेको बताए ।

उनले उक्त बजेट त्रुटिपूर्ण रहेको भन्दै बजेटलाई कार्यान्वयनमा ल्याउने सन्दर्भमा सरकारसँग ठुलो चुनौती रहेकाले सदनबाट त्रुटी सच्याउने प्रस्ताव ल्याउनु उचित विकल्प हुने धारणा राखे ।

उनले कार्यान्वयनमा जान नसक्ने बजेट जनताको हितमा काम हुन नसक्ने दाबी गरे । नेता आङ्बोले विकास, समृद्धि, रोजगार र उत्पादनसँगै जनताको आवश्यकता पूरा गर्न किसिमको बजेट आउनुपर्नेमा जोड दिए ।

बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य मीना श्रेष्ठ, सविना बजगाईं र सपना दर्जीले प्रदेशको मौजुदा समस्याका बारेमा आ(आफ्नो धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक असार २२ गते सोमबार बिहान ११ः०० बजे बस्ने उपसभामुख सृजना दनुवारले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?