Butwal Today

संविधान जोगाउन जुर्मुराउनुपर्ने बेला आयो : प्रचण्ड

२१ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

दाहालले वर्तमान सरकार सुशासन र विकासका लागि नभई संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा महिला, दलित, आदिवासी र जनजातिले प्राप्त गरेका अधिकार खोस्ने र संविधान नै समाप्त पार्ने दिशामा अग्रसर रहेको दाबी गरे ।

‘यो सरकार सुशासन र विकासका निम्ति होइन । यो संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी र जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दै छ । खबरदार, तपाईँ हामी सबै एक चोटि जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ,’ उनले भने ।

उनले सरकारले सुकुम्वासी बस्ती हटाउने, विद्यार्थी युनियनहरू खारेज गर्ने, ट्रेड युनियनका अधिकार खोस्ने तथा देशको सीमाका विषयमा जथाभाबी बोल्ने काम गरिरहेको आरोप लगाए । यस्ता विषयमा आफूले एक पटक संसद्मा बोलेको उल्लेख गर्दै अब सरकारबारे बोल्नुपर्ने धेरै विषय भएकाले आगामी दिनमा संसद्मा पनि विस्तृत रूपमा धारणा राख्ने बताए ।

‘जुर्मुराउनका लागि मैले अघि भनेजस्तै, गल्ती कहाँ भयो भने हामीले वर्ग सङ्घर्ष, विचार र रणनीतिलाई बेवास्ता गर्‍यौँ । कार्यनीतिमै दिनदिनै रमायौँ र हामी बिग्रियौँ । त्यसको मुख्य जिम्मेवारी मैले लिनुपर्छ,’ दाहालले भने, ‘मैले अरूलाई दोष दिएर सुख पाउँदिन । किनभने तीन पटक प्रधानमन्त्री म आफैँ भइसकेको छु । अरूलाई केही भनिनँ । त्यही भएर कहिलेकाहीँ सबै मिलेर मलाई छिट्टै हटाइदिनुस् न भन्न पनि मन लाग्छ ।’

दाहालले विगतमा वर्ग सङ्घर्ष, विचार र रणनीतिलाई भुल्नु गम्भीर गल्ती भएको स्वीकार गर्दै त्यसबाट शिक्षा लिएर आगामी दिनमा अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?