© 2026
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले नेपालभित्र सञ्चालनमा रहेका २६ वटा दर्ता भएका बेटिङ एपहरू बन्द गरेको जनाएको छ ।
सरकारले सार्वजनिक गरेको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’मा अवैध अनलाइन सट्टे बाजी तथा जुवासँग सम्बन्धित डोमेन लिङ्कहरू पनि बन्द गरिएको उल्लेख गरिएको छ ।
सारांशमा भनिएको छ, ‘नेपालभित्र सञ्चालनमा रहेका २६ वटा दर्ता भएका बेटिङ एप तथा अवैध अनलाइन सट्टे बाजी र जुवासँग सम्बन्धित कुल २ लाख ४८ हजार ६७६ वटा डोमेन लिङ्कहरू बन्द गराइएको छ ।’
सरकारले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी तथा आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको पनि जनाएको छ ।
त्यसैगरी, सूचना तथा सञ्चार मन्त्रालयका अनुसार सरकारले सूचना प्रविधि, साइबर सुरक्षा तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी विधेयकहरूको मस्यौदा तयार गरी अगाडि बढाएको छ ।
सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने नीतिअनुरूप सरकारले प्रसारण इजाजत तथा चलचित्र जाँचपासजस्ता सेवाहरूको प्रक्रिया पुनर्संरचना गरेको छ । यसअघि ३ देखि ७ दिन लाग्ने यी सेवाहरू अब १ देखि ३ दिनभित्र उपलब्ध गराउन थालिएको सरकारले जनाएको छ ।