Butwal Today

एआई प्रविधिले कम्पनी रजिस्ट्रारसम्बन्धी सेवा सहज

१९ असार २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  कम्पनी रजिस्ट्रारको कार्यालयले डिजिटल प्रणाली र प्रविधिको पूर्ण प्रयोगसँगै जनशक्ति व्यवस्थापनमा ठुलो फेरबदल ल्याउने प्रस्ताव अघि सारेको छ ।

हाल उपलब्ध प्रविधिको उच्चतम प्रयोगमार्फत थोरै कर्मचारीबाट धेरै र छिटो काम गर्न सम्भव भएको भन्दै कम्पनी रजिस्ट्रार कृष्णकुमारी श्रेष्ठले २८ प्रतिशत कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग मन्त्रालयसमक्ष पेस गरेकी छन् । कम्पनी रजिस्ट्रार कार्यालयको अभ्यासको सफल कार्यान्वयनबाट प्रशासनिक खर्चमा हुँदै आएको ठुलो भार कम हुनेछ ।

एआई कल सेन्टर र प्रविधिको प्रयोग

सेवाग्राहीका गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्न कार्यालयले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) एआई प्रविधिमा आधारित कल सेन्टरको व्यवस्था समेत गरेको कम्पनी रजिस्ट्रार श्रेष्ठले जानकारी दिइन। जसका कारण अब २४सै घण्टा सेवाग्राहीले कम्पनी दर्ता सम्बन्धी जानकारी वा सेवा पाउन सक्ने भएका छन् ।

घरबाटै कम्पनी दर्ता र प्यान नम्बर

रजिस्ट्रार श्रेष्ठका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी प्रतिवेदनको बुँदा नम्बर ५८ मा उल्लेखित निर्देशन कार्यान्वयन गर्दै विगतमा सेवाग्राहीले भोग्दै आएका सास्ती र झन्झटको अन्त्य गर्न पूर्ण डिजिटल प्रणालीको सुरुआत गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार अब सेवाग्राहीले कम्पनी दर्ताका लागि कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ र घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने नियम बनाइएको छ । घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने गरी प्रणाली विकसित गरिएको छ ।

यसका साथै, कम्पनी दर्तापश्चात् व्यावसायिक स्थायी लेखा नम्बर लिनका लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय गइरहनु नपर्ने गरी प्रविधिलाई एकीकृत गरिएको छ । यो व्यवस्थाले सेवाग्राहीको समय र लागत दुवै बचत हुने कार्यालयको दाबी छ ।

उद्योग मन्त्रीद्वारा कम्पनी रजिस्ट्रारको कार्यालयको अनुगमन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज कम्पनी रजिस्ट्रारको कार्यालयको अनुगमन गरेकी छन् । अनुगमनका क्रममा उनले सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्न र आगामी दिनमा नयाँ प्रविधिको अधिकतम प्रयोगमा ध्यान दिन निर्देशन दिएको उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?