Butwal Today

दलीयकरणबाट शिक्षालाई मुक्त गर्नुपर्छ : गगन थापा

१९ असार २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रमा विद्यमान राजनीतिकरण र दलीयकरण नै सुधार नहुनुको मुख्य कारण रहेको बताएका हुन् ।

विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली कमजोर बन्दै गएको उनको भनाइ छ । यद्यपि शिक्षा आफैँमा राजनीतिक विषय भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्न सक्ने भूमिकाबारे गम्भीर बहस आवश्यक रहेको उनले स्पष्ट पारे ।

उनले भने, “शिक्षामा राजनीति भयो भनिन्छ । म भन्छु, शिक्षामा राजनीति होइन, दलीयकरण भयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षदेखि प्रधानाध्यापक र शिक्षकसम्म आफ्नै मान्छे चाहिने प्रवृत्तिबाट हामी बाहिर निस्कनुपर्छ । यही दलीयकरणले शिक्षा क्षेत्रमा सबैभन्दा ठुलो समस्या ल्याएको छ ।”

थापाले शिक्षा क्षेत्रलाई दलीयकरणबाट मुक्त गरेर यसको लक्ष्य, उद्देश्य र मुलुकको समृद्धिमा पुर्‍याउन सक्ने योगदानबारे व्यापक बहस हुनुपर्ने बताए । उनका अनुसार मुलुकको समृद्धि र विकासमा शिक्षा क्षेत्रले खेल्न सक्ने भूमिका र योगदानबारे राजनीतिक वृत्तमा पर्याप्त बहस हुन सकेको छैन ।

सरकारले हतारमा परीक्षाफल प्रकाशित गर्ने र छिटो नतिजा निकाल्नुलाई नै उपलब्धि ठान्ने प्रवृत्तिका कारण हजारौँ विद्यार्थी समस्यामा परेको पनि उनले उल्लेख गरे । थापाले कक्षा १० र १२ को परीक्षाफलका सन्दर्भमा देखिएका समस्याबारे संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने जानकारी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?