© 2026
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनको कार्यकालमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरेर शुक्रबार काठमाडौँ फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष राईले सरकारले केही काम गर्ने प्रयास गरे पनि त्यसको परिणाम जनताले अनुभूति गर्न नसकेको बताए । महँगी निरन्तर बढिरहेकाले त्यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गर्दै उनले आफूहरूले सरकारलाई यसबारे निरन्तर सुझाव दिँदै आएको स्मरण गराए ।
उनले भने, “सरकारले कोसिस त गरेको छ । तर त्यसको परिणाम जनताले त्यति महसुस गर्न सकेका छैनन् । कामको प्रभाव जनताले अनुभूति गर्न सक्नुपर्छ । अहिले महँगी धेरै बढेको छ । त्यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो सल्लाह रहँदै आएको छ । म दार्चुलामा हुँदा त्यहाँ आमसञ्चारको पहुँच कमजोर देखेँ । पेट्रोलको भाउ केही घटेको भन्ने सुनेको छु ।”
अध्यक्ष राईले पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको निर्णयलाई सकारात्मक कदमका रूपमा लिएको बताए । साथै, दार्चुलाजस्तो विकट जिल्लाको विकास प्रक्रियामा सहभागी हुन पाउँदा आफू खुसी भएको पनि उनले उल्लेख गरे ।