Butwal Today

गृहमन्त्री गुरुङले भने– मेरो गाडीको कालो सिसा पनि हटाउनुस्

१५ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर गृहमन्त्री गुरुङले अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिँदै आफूले प्रयोग गर्ने गाडीको कालो सिसा पनि हटाउन आग्रह गरेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले र अन्य अधिकृतहरूसँग उनले भने, ‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस् ।’

यसअघि गृहमन्त्रीले प्रयोग गर्ने सवारीमा कालो सिसा राख्ने चलन रहे पनि गुरुङ प्रायः आफ्नै निजी गाडी प्रयोग गर्दै आएका छन् । उनको निर्देशनपछि ट्राफिक प्रहरीले गृहमन्त्रीले प्रयोग गर्ने गाडीको कालो सिसा पनि हटाउने तयारी गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतका अनुसार गृहमन्त्रीको गाडीमा रहेको कालो सिसा पनि हटाइनेछ ।

ट्राफिक प्रहरीले असार १४ गतेदेखि काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा तथा स्टिकर हटाउने अभियान सुरु गरेको छ । पहिलो चरणमा कालो स्टिकर हटाउने काम भइरहेको छ ।

यस्तै, कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको सिसा परिवर्तन गर्ने विषयमा ट्राफिक प्रहरीले सोमबार गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गरिरहेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीले भने, ‘कतिपय गाडी कम्पनीबाटै कालो सिसा जडान भएर आएका भेटिएका छन् । त्यसबारे सम्बन्धित पक्षसँग छलफल गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?