Butwal Today

प्रधानमन्त्री कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भएको छ : सांसद विष्ट

१५ असार २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जर्मनीका तानाशाह हिटलरको ‘ग्यास च्याम्बर’ जस्तै भएको टिप्पणी गरेको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै नेकपाका सांसद नरबहादुर विष्टले प्रधानमन्त्री कार्यालयको कार्यशैलीलाई ‘हिटलरको ग्यास च्याम्बर’सँग तुलना गरेका हुन् ।

‘प्रधानमन्त्री कार्यालय जर्मनीका हिटलरको ग्यास च्याम्बरजस्तै बनेको छ । त्यहाँ संवैधानिक अङ्गका प्रमुखहरूलाई बोलाएर गाली गर्ने, मानवअधिकार आयोगलाई धम्क्याउने र थर्काउने काम भइरहेको छ,’ उनले भने ।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्रीलाई भेट्न आएका प्रधानसेनापतिलाई तीन घण्टासम्म कुराएर फर्काइएको घटनाले सरकारको अपरिपक्वता झल्काएको उनको तर्क थियो ।

प्रशासनिक फजुल खर्च र मन्त्रीका सल्लाहकारहरूको नियुक्तिप्रति पनि उनले प्रश्न उठाए । ५७ जनालाई सचिवसरहको सुविधा दिएर मन्त्रीहरूको सचिवालयमा भित्र्याउने तयारी भइरहेको सुनिएको उल्लेख गर्दै उनले यसले राज्यको ढुकुटी सिध्याउने काम गरिरहेको बताए ।

सांसद विष्टले सरकार सुशासन र जनजीविकाका सवालमा पूर्ण रूपमा असफल भएको दाबी गरे । उनले सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमाथि टिप्पणी गर्दै एउटा कविता पनि सुनाए ।

‘बनेको छ जालझेलले त्यो तिम्रो पार्टी, बगेको छ गरिबको रगत त्यो तिम्रो अत्याचारले । ठगेको सहकारीले त्यो तिम्रो लाज छोपिने छैन,’ विष्टले भने ।

सहकारी ठगी र गरिबको रगत–पसिनामाथि भइरहेको खेलबाडप्रति सरकार उदासीन रहेको उनको आरोप थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै विष्टले १८ वर्षमुनिका ३५ हजार बालबालिकालाई पार्टी सदस्यता दिइएको भन्दै आपत्ति जनाए ।

‘यो कुन पार्टी हो र कुन जातले बनेको पार्टी हो, कसैलाई थाहा छैन,’ उनले भने ।

रास्वपाको महाधिवेशनमा अपनाइएको मतदान प्रक्रिया र आन्तरिक लोकतन्त्रमाथि पनि उनले व्यङ्ग्य गरे ।

कूटनीतिक क्षेत्रमा पनि सरकार असफल भएको दाबी गर्दै उनले पासपोर्ट प्रकरणमा जर्मनीले नेपालको दूतावासलाई बोलाएर कडा प्रतिक्रिया दिएको सन्दर्भ उल्लेख गरे ।

देशमा महँगी बढेको, किसानले मल–बीउ नपाएको र विद्यार्थीले पाठ्यपुस्तक नपाएको अवस्थामा सरकार सुशासनको रटानमै व्यस्त रहेको उनको आरोप थियो ।

सांसद विष्टले २०७२ सालको संविधानलाई निकम्मा बनाउने षड्यन्त्र भइरहेको भन्दै यसको रक्षाका लागि सबै नेपाली सतर्क हुनुपर्नेमा जोड दिए ।

फेसबुकमा स्टाटस लेखेर र अरूलाई गाली गरेर मात्र देश नबन्ने भन्दै उनले राजनीतिक र कूटनीतिक संवादमार्फत समस्याको समाधान खोज्न सरकारलाई सुझाव दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?