Butwal Today

भदौ २३ र २४ बाट सुरु भएको प्रतिगमनको सिलसिला अझै जारी छ : ओली

१४ असार २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ बाट सुरु भएको प्रतिगमनको सिलसिला अझै जारी रहेको बताएका छन् ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई समाप्त पार्ने उद्देश्यले भदौ २३ र २४ मा प्रतिगामी षड्यन्त्र गरियो,’ ओलीले भने, ‘त्यस षड्यन्त्रले वैधानिक सरकारलाई विस्थापित गर्‍यो । सरकार बनाउने वैधानिक संसद् विघटन गरेर असंवैधानिक सरकार बनाइयो ।’

आफ्नो नेतृत्वका सरकारका केही कमजोरी भए आत्मसमीक्षा गर्न सकिने भए पनि देश बर्बाद पारेको भन्ने भाष्य गलत रहेको उनको भनाइ थियो ।

‘हामीले देशद्रोही काम गरेर वा विकासका काम नगरेर होइन, झुटा प्रचार र अफवाह फैलाएर हामीलाई बदनाम गर्ने प्रयास गरियो । त्यसबाट जनतामा आक्रोश पैदा गरियो,’ उनले भने, ‘त्यो प्रतिगमनको योजनाकै हिस्सा थियो र त्यो सिलसिला अहिले पनि जारी छ ।’

ओलीले प्रतिगमनलाई सही ठहराउने उद्देश्यले विघटित संसद्को निर्वाचन गराइएको दाबी गरे । उनका अनुसार निर्वाचनको परिणाम पहिले नै घोषणा गरिएको जस्तो गरी प्रतिकूल परिस्थितिमा चुनाव गराइएको थियो ।

उनले त्यसबेला एमालेले उक्त निर्वाचन वामपन्थी आन्दोलन र लोकतन्त्रको पक्षमा नभई प्रतिगमनलाई वैधानिक रूपमा अघि बढाउने प्रयास भएको भन्दै जनतालाई बुझाउन खोजे पनि त्यसमा सफल हुन नसकेको बताए ।

‘अहिले पनि हामी भ्रममा छैनौँ । प्रतिगमनको सिलसिला अझै अघि बढिरहेको छ,’ उनले भने ।

ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको सीमा धेरै स्थानमा मिचेको भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई निराधार र राष्ट्रहितविपरीत भएको टिप्पणी गरे । उनले उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री शाहले अहिलेसम्म खण्डन नगरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?