© 2026
पाल्पा । पाल्पा र स्याङ्जालाई जोड्ने काली गण्डकी नदीमाथि निर्माणाधीन राम्दी सिग्नेचर पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल राम्दीघाटमा निर्माण भइरहेको नेपालकै पहिलो ‘सिएएफएसआरआई स्टिल ट्युब आर्क’ प्रविधिको यो पुल आगामी केही महिनाभित्र सञ्चालनमा आउने तयारीमा छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत रहेको पाँच दशक पुरानो स्टिल पुल जीर्ण बन्दै गएपछि त्यसको विकल्पका रूपमा नयाँ पुल निर्माण गरिएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामो स्टिल पुलभन्दा केही तल १२० मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ ।
पुलमा पैदल यात्रुका लागि फुटपाथसहित ११ मिटर चौडाइ रहनेछ भने ४० टन भारवहन क्षमता हुनेछ । सडक विभागअन्तर्गत पुल महाशाखाले सर्वेक्षण सम्पन्न गरी अघि बढाएको यो पुल नेपालमै पहिलो पटक ‘सिएएफएसआरआई स्टिल ट्युब आर्क’ प्रविधिमा निर्माण भइरहेको पुल हो ।
पुल सेक्टर आयोजनाका प्राविधिक रमेश शर्माका अनुसार यस प्रकारका पुल चीन, भुटान र दुबईलगायत देशमा निर्माण भए पनि नेपालमा पहिलो पटक प्रयोग गरिएको हो । पुलको डिजाइन थाइल्यान्डका प्राविधिकले तयार पारेका हुन् ।
निर्माण कम्पनीका अनुसार हालसम्म पुलको करिब ८० प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको छ । बाँकी काम तीव्र रूपमा अघि बढिरहेको र आगामी तीन महिनाभित्र पुल नेपाल सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको जनाइएको छ । प्राविधिकहरूका अनुसार ‘बिनास्पान’ संरचनामा निर्माण भएको यस्तो पुल नेपालकै पहिलो हो ।
२०७९ कात्तिक २३ गते चितवनस्थित हिमशिखर–सगरमाथा जेभीसँग २७ करोड ७१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण कम्पनीले करिब एक वर्षपछि मात्रै निर्माण कार्य सुरु गरेको स्थानीयको भनाइ छ ।
राम्दीस्थित पुरानो स्टिल पुल २०२८ सालमा सिद्धार्थ राजमार्ग निर्माणसँगै सञ्चालनमा आएको थियो । भारत सरकारको सहयोगमा बनेको उक्त पुल तत्कालीन पञ्चायती नेता कृतिनिधि विष्टले उद्घाटन गरेका थिए । तर समयमै मर्मत सम्भार हुन नसक्दा पुल जीर्ण बन्दै गएको थियो ।
स्थानीयका अनुसार दुई दशकअघि काली गण्डकी जलविद्युत् आयोजनाको निर्माणका क्रममा पुलको क्षमताभन्दा बढी भार भएका सवारीसाधन सञ्चालन गरिएकाले पुलको संरचनामा असर परेको थियो । त्यसपछि पनि नियमित मर्मत सम्भार नगरिँदा पुल थप कमजोर बन्दै गयो । पुल जोखिमपूर्ण बनेपछि स्थानीयले पटक–पटक सडक अवरुद्ध गरी नयाँ पुल निर्माणको माग गर्दै आन्दोलनसमेत गरेका थिए ।
राम्दी पुल व्यापारिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ । सिद्धार्थ राजमार्ग हुँदै भारतदेखि पोखरा तथा उत्तरतर्फ हिमाली जिल्लासम्म पुग्ने मालवाहक तथा यात्रुवाहक सवारीसाधन यही पुलबाट आवतजावत गर्दै आएका छन् । पुरानो पुलको भारवहन क्षमता सीमित भएकाले ठूला मालवाहक सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको थियो ।
वालिङका व्यवसायी ईश्वरी श्रेष्ठका अनुसार पुरानो पुलले ठूलो भार भएका सवारी धान्न नसक्दा निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित हुने गरेको थियो । नयाँ पुल सञ्चालनमा आएपछि ढुवानी सहज हुने, यातायातको समय घट्ने र व्यापार–व्यवसायलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीयवासीका अनुसार नयाँ पुल सञ्चालनमा आएपछि सिद्धार्थ राजमार्गको यात्रासमेत थप सुरक्षित र सहज हुनेछ । यसले गण्डकी र लुम्बिनी प्रदेशबीचको सडक सञ्जाललाई बलियो बनाउनुका साथै भारतदेखि हिमाली क्षेत्रसम्मको उत्तर–दक्षिण व्यापारिक तथा पर्यटकीय मार्गलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
प्राविधिक हिसाबले नेपालकै नमुना मानिएको यो सिग्नेचर पुल सञ्चालनमा आएपछि राम्दीघाट केवल आवागमनको केन्द्र मात्र नभई नयाँ पर्यटकीय आकर्षणका रूपमा समेत स्थापित हुने अपेक्षा गरिएको छ ।