© 2026
गुल्मी । गाउँघरका खाली गोठहरूले अहिले ग्रामीण समाजमा देखिएको एउटा गम्भीर यथार्थलाई सङ्केत गरिरहेको छ ।
कुनै समय गाउँका हरेक घरका गोठमा अनिवार्य जस्तै देखिने रैथाने गाई आजभोलि दुर्लभ बन्दै गएका छन् । व्यावसायिक रूपमा बढी दूध दिने उन्नत जातका गाईप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय रैथाने गाई पाल्ने चलन घटेको छ ।
यसको असर केवल पशुपालन क्षेत्रमा मात्र नभई हाम्रो धार्मिक संस्कार, संस्कृति र परम्परामा समेत प्रत्यक्षरूपमा देखिन थालेको छ ।
गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्मा भने लोपोन्मुख अवस्थामा पुगेका रैथाने गाईको संरक्षणका लागि नयाँ पहल सुरु गरिएको छ ।
वडाले स्थानीय रैथाने लैनो गाई पाल्ने किसानलाई प्रति गाई वार्षिक दुई हजार रुपैयाँ स्याहार भत्ता उपलब्ध गराउन सुरु गरेको हो । यस आर्थिक वर्षमा ब्याएका १९ वटा गाई पालक किसानलाई उक्त प्रोत्साहन भत्ता वितरण गरिएको छ ।
गाउँघरबाट बिस्तारै हराउँदै गएको रैथाने गाईको संरक्षण गर्दै किसानलाई पुनः गाई पालनतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष शुसिल चन्दले बताए । “रैथाने गाई हाम्रो मौलिक सम्पत्ति हो ।
यसको संरक्षणका लागि किसानलाई प्रोत्साहन गर्न स्याहार भत्ता वितरण सुरु गरेका हौँ,” उनले भने, “पाका पुस्ताबाट रैथाने गाई संरक्षण गर्नुपर्ने माग निरन्तर आइरहेकाले यो कार्यक्रम अघि बढाइएको हो । आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने योजना छ ।”
स्थानीयका अनुसार केही दशक अघिसम्म गाउँघरका अधिकांश परिवारले गाई पाल्ने गर्थे । विशेष गरी धार्मिक र सांस्कृतिक परम्परासँग गाईको सम्बन्ध अत्यन्त घनिष्ठ थियो ।
मृत्यु संस्कारका क्रममा पुरोहितलाई लैनो गाई दान गर्ने परम्परा गाउँमा प्रचलित थियो । तर समयसँगै गाई पालन घट्दै जाँदा यस्तो चलन पनि हराउँदै गएको छ । अहिले धेरै स्थानमा गाईको सट्टा नगद दिने प्रचलन बढेको छ ।
धार्मिक कर्मका लागि आवश्यक पर्ने गोबर र गौमुत्र समेत सहज रूपमा उपलब्ध नहुने अवस्था सिर्जना भएको वडाध्यक्ष चन्द बताउँछन् । गाई पालन घट्दै जाँदा धार्मिक संस्कार, संस्कृति र परम्परामा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।
स्थानीय किसान नरबहादुर विष्टका अनुसार पहिले गाउँका हरेक घरमा गाई हुन्थे । अहिले भने गाउँमा दिनभरि घुम्दा पनि रैथाने गाई भेट्न मुस्किल हुने अवस्था आएको छ । “गाई घटेसँगै गोबर र गौमूत्रको अभाव हुन थालेको छ । वडाले दिएको स्याहार भत्ताले किसानलाई गाई जोगाउन केही राहत र हौसला दिएको छ,” उनले भने ।
रैथाने गाई केवल दूध उत्पादनको स्रोत मात्र होइनन्, ती ग्रामीण जीवनशैली, धार्मिक आस्था र कृषि प्रणालीका अभिन्न अङ्गसमेत हुन् । गाईबाट प्राप्त हुने दूध, गोबर र गौमुत्र मानव स्वास्थ्य, जैविक खेती तथा धार्मिक कार्यका दृष्टिले महत्त्वपूर्ण मानिन्छन् ।
हिन्दु परम्परामा गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गरिन्छ । जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारमा गाईजन्य वस्तुको प्रयोग हुने भएकाले यसको संरक्षण धार्मिक र सांस्कृतिक दृष्टिले पनि उत्तिकै आवश्यक रहेको स्थानीयहरू बताउँछन् ।
स्थानीय राधा कुँवरका अनुसार स्थानीय तहले थालेको यो अभियानले किसानलाई आर्थिक रूपमा प्रोत्साहित गर्नुका साथै लोपोन्मुख अवस्थामा पुगेका परम्परा र संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तहको यो पहलले रैथाने गाई संरक्षणसँगै ग्रामीण संस्कृति, धार्मिक परम्परा र जैविक कृषि प्रणालीको जगेर्नामा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।