Butwal Today

बेइजिङको सीआईटीआईसी टावरमा विमान ठोक्कियो

१३ असार २०८३, शनिबार
अ+
अ-

बेइजिङ ।

चीनको राजधानी बेइजिङस्थित सबैभन्दा अग्लो गगनचुम्बी भवन ‘सीआईटीआईसी टावर’ मा एउटा सानो विमान ठोक्किएको छ । विश्वकै सबैभन्दा सुरक्षित र कडा निगरानी हुने सहरमध्ये एक मानिने बेइजिङको मुटुमा भएको यस घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको सीएनएनले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा १०९ तले उक्त टावरबाट भग्नावशेष तल झरिरहेको देखिन्छ । घटनास्थलमा विमानको पुच्छरको भाग र एउटा ट्याक्सीको फुटेको सिसा फेला परेको छ ।

शुक्रबार दिउँसो भएको घटनालगत्तै भवनभित्र रहेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । घटनास्थलमा ठूलो संख्यामा दमकल, प्रहरी र एम्बुलेन्स परिचालन गरिएको थियो ।

यस संवेदनशील घटनाबारे चिनियाँ अधिकारीहरूले हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् । बेइजिङ जनसुरक्षा ब्युरोका स्थानीय अधिकारीहरूले घटनाबारे आफूहरूलाई जानकारी नभएको बताएका छन् । बेइजिङ नगरपालिका र विमानको स्वामित्व रहेको बताइएको कम्पनीले पनि सञ्चारमाध्यमसँग कुनै प्रतिक्रिया दिएका छैनन् ।

विमानको दर्ता कोडका आधारमा यो चीनमै निर्मित हलुका खेलकुद विमान भएको खुलेको समाचारमा उल्लेख छ । उक्त विमान एक स्थानीय जनरल एभिएसन कम्पनीको स्वामित्वमा रहेको र त्यस कम्पनीले पाइलट तालिम तथा मनोरञ्जनात्मक उडान सेवा सञ्चालन गर्ने गरेको बताइएको छ ।

फ्लाइटराडार२४ को अनलाइन तथ्यांकअनुसार बेइजिङको शिफोसी विमानस्थलबाट उडेको केही समयपछि उक्त विमान आफ्नो निर्धारित मार्गबाट निकै टाढा मोडिएको देखिएको छ । विमानमा कति जना सवार थिए र घटनाबाट कति क्षति भयो भन्नेबारे चिनियाँ अधिकारीहरूले हालसम्म कुनै जानकारी दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?