Butwal Today

आधुनिकताको लहरमा हराउँदै माटोका भाँडाहरू

१२ असार २०८३, शुक्रबार
अ+
अ-

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिका–तिलकपुरका सोमबहादुर कुमालको आँगनमा एक समय बिहानैदेखि चक ( माटोको भाँडा बनाउने पाङ्ग्रा) घुम्ने गर्थ्यो । कालो माटोको डल्लोलाई कुशल हातले आकार दिदैँ गाग्री, मट्का, भुड्का, मटौला र अन्य थुप्रै भाँडाको आकार दिने गर्थे । तर आज त्यो चकको प्रयोग भने हुदैँन । किनभने माटोका भाँडा बनाउने काम छाडेको पनि उनले धेरै वर्ष भइसकेको छ ।

सोमबहादुरका बुबा झुलबहादुर कुमालले यही पेशाबाट ५ जनाको परिवार पालेका थिए । कालो माटोबाट विभिन्न प्रकारका भाँडा बनाएर गाउँ–गाउँ, बस्ती–बस्ती पुगेर अन्न र पैसासँग साट्ने चलन थियो । त्यतिबेला माटोका भाँडा केवल दैनिक उपभोगका सामग्री मात्र थिएनन्, कुमाल समुदायको पहिचान र जीविकोपार्जनको मुख्य आधार पनि थियो ।

तर समय बदलियो । बजारमा प्लास्टिक, स्टिल र आल्मुनियमका भाँडा सस्तो र सहज रूपमा उपलब्ध हुन थाले । मानिसहरूको जीवनशैली आधुनिक बन्दै जाँदा माटोका भाँडाको प्रयोग घट्दै गयो । त्यससँगै पुस्तौँदेखि चल्दै आएको कुमाल समुदायको पुर्ख्यौली पेशा पनि संकटमा पर्न थाल्यो ।

“यो पेशा रहरले होइन, बाध्यताले छाड्नुपर्‍यो”, सोमबहादुर भन्छन्, “भाँडाको मूल्यभन्दा उत्पादन लागत महँगो पर्न थाल्यो ।”

रामपुर–तिलकपुर, गेझा र बगनासकाली गाउँपालिकाको घोर्वन्दालगायत क्षेत्रमा बसोबास गर्ने कुमाल समुदायको मुख्य जीविकोपार्जन नै माटोका भाँडा बनाउने थियो । तर अहिले त्यो पहिचान नै हराउने अवस्थामा पुगेको छ ।

एक समय रामपुर क्षेत्रमा मात्रै २० भन्दा बढी परिवार यही पेशामा संलग्न थिए । उनीहरू भाँडाको भारी बोकेर खाली खुट्टा गाउँ–गाउँ पुग्थे । बजारका पसलदेखि ग्रामीण बस्तीसम्म माटोका भाँडाको राम्रो व्यापार हुन्थ्यो । अहिले त्यो दृश्य सम्झनामा मात्रै सीमित छ ।

समस्या केवल बजारको होइन । भाँडा बनाउन आवश्यक कालो माटो पाउनै कठिन बन्दै गएको छ । जहाँ राम्रो माटो पाइन्थ्यो, त्यहाँ अहिले बस्ती विस्तार भएको छ । टाढाबाट माटो ल्याउँदा लागत अत्यधिक बढ्छ । भाँडा पोल्न आवश्यक दाउरा व्यवस्थापन गर्न पनि कठिन भएको छ ।

दमबहादुर कुमाल भन्छन्, “कालो माटो पाइने ठाउँमा बस्ती विस्तार भयो । टाढाबाट माटो ल्याउँदा खर्च धेरै लाग्छ । वनबाट दाउरा ल्याउन पनि सहज छैन। त्यसैले यो पेशा लगभग बन्द नै भयो ।”

गेझाका रणबहादुर कुमालका अनुसार पहिले खेत तथा भासी खेतको कालो माटोलाई राम्रोसँग मुछेर एक–दुई दिन राखिन्थ्यो । त्यसपछि चकको सहायताले डण्डा, आरी, भुड्का, मटौला, गाग्रीलगायत करिब १० प्रकारका भाँडा बनाउथ्यौ । यी भाँडा बनाउन निकै मेहनत लाग्थ्यो । पुरानो पुस्ताले अनेक दुःख गरेर सीप जोगाए पनि नयाँ पुस्ता भने यस पेशातर्फ आकर्षित भएन ।

“नयाँ पुस्ताले नयाँ पेशा रोज्यो । पुर्ख्यौली सीप सिक्ने मान्छे नै कम हुँदै गएका छन्,” रणबहादुरको भनाइ छ ।

सुनवीर कुमालका अनुसार माटोका गाग्रीमा राखिएको पानी गर्मी महिनामा फ्रिजको पानीभन्दा पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर आधुनिक जीवनशैलीसँगै यस्ता भाँडाको प्रयोग घट्दै जाँदा ती पनि घर–आँगनबाट हराउन थालेका छन् ।

बगनासकाली गाउँपालिका–घोर्वन्दाका कुमाल समुदायको अवस्था पनि फरक छैन । विगत एक दशकयता त्यहाँ माटोका भाँडा बनाउने काम लगभग बन्द भएको छ । पुरानो पुस्ता बिस्तारै हराउँदै गएका छन् भने नयाँ पुस्ता अन्य पेशा र रोजगारीतर्फ लागेका छन् । सीप हुँदाहुँदै पनि माटो, इन्धन र बजारको अभावले पेशा टिकाउन नसकिएको उनीहरू बताउँछन् ।

स्थानीय अग्रज बसन्ती कुमाल जनप्रतिनिधिप्रति असन्तुष्टि व्यक्त गर्दै भन्छिन्, “हामीलाई चुनावका बेला मात्रै सम्झिने गरिन्छ । हाम्रो पेशा संरक्षणका लागि कसैले दीर्घकालीन योजना बनाएका छैनन् ।”

स्थानीय सरकारले कच्चा पदार्थ, उत्पादन र बजार व्यवस्थापनमा सहजीकरण गरेको भए यो परम्परागत पेशा अझै जोगिन सक्ने सोमबहादुरको विश्वास छ । “हामीलाई माटो उपलब्ध गराइदिने, उत्पादनलाई बजारसँग जोडिदिने व्यवस्था भएको भए यो पेशा अझै टिक्न सक्थ्यो,” उनी भन्छन् ।

माटोका भाँडा हराउनु भनेको केही सामान हराउनु मात्र होइन । यो एउटा समुदायको पुस्तौँ पुरानो सीप, संस्कृति, पहिचान र जीवनशैली बिस्तारै इतिहास बन्दै जानु पनि हो । यदि समयमै संरक्षण र प्रवर्द्धन गर्न सकिएन भने माटोका यी भाँडासँगै कुमाल समुदायको अमूल्य सांस्कृतिक सम्पदा पनि हराउने खतरा बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?